
काठमाडौं । सिजनको अन्तिम एल क्लासिको भिडन्तमा रियाल मड्रिडलाई ४-३ गोलले पराजित गर्दै बार्सिलोना ला लिगा उपाधी नजिक पुगेको छ । किलियन एम्बाप्पेको ह्याट्रिक रियालको जीतका लागि पर्याप्त भएन ।
बार्सिलोनाको मैदानमा गएराति भएको खेलमा रियालले २-० गोलको अग्रता जोगाउन सकेन । खेल सुरु भएको पाँचौं मिनेटमा नै एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए ।
१४औं मिनेटमा उनैले बार्सासँगको दूरी २-० शून्यमा पुर्याए । एम्बाप्पेले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । अघिल्लो साता इन्टर मिलानसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि स्तब्ध बनेको बार्सिलोनाले रियाल विरुद्ध उत्कृष्ट पुनरागमन गर्यो । बार्सिलोना १९औं मिनेटमा एरिक गार्सियाको गोल मार्फत खेलमा फर्किएको थियो । उनका लागि फरान टोरेसले सहयोग गरेका हुन् ।
३२औं मिनेटमा लमिन यामलले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । ३४औं मिनेटमा राफिन्हाने गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाए । राफिन्हाले ४५औं मिनेटमा पुनः गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-२ ले अघि रहन सफल भयो ।
ब्रेकपछि रियाल र बार्सिलोनाले गरेको १-१ गोल अफ साइड भएको थियो । ७०औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । अन्ततः बार्सिलोना ४-३ ले विजयी भयो ।
जितसँगै बार्सिलोनाले सिजनका ४ एल क्लासिकोमा रियाललाई पराजित गर्यो । यसअघि ला लिगाको पहिलो लेग, स्पेनिस सुपर कप र कोपा डेल रे फाइनलमा रियाल हारेको थियो ।
बार्सिलोनाले सन् १९८२-८३ पछि एकै सिजनको चार एल क्लासिकोमा जित हात पारेको हो । तालिकाको शीर्ष स्थानमा रहेको बार्सीलोनाको ३५ खेलबाट ८२ अंक छ ।
दोस्रो स्थानको रियालको ७५ अंक छ । यदि बार्सिलोनाले आगामी बिहीबार स्पानियोललाई हराए ला लिगा उपाधि जित्नेछ । त्यो भन्दाअघि बुधबार रियाल मायोर्कासँग हारे बार्सिलोनालाई लिग च्याम्पियन बन्न पर्याप्त हुनेछ ।