घरेलु मैदानमा युनाइटेड स्तब्ध

मंसिर २४, २०८० |कान्तिपुर टीभी संवाददाता
घरेलु मैदानमा युनाइटेड स्तब्ध

लन्डन । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा बर्नमाउथसंग स्तब्ध भएको छ । बर्नमाउथले एरिक टेन हाखको टोलीलाई ३ - ० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा खेल सुरु भएको छैटौँ मिनेटमै डोमिनी सोलान्कीले गोल गर्दा घरेलु समर्थक निराश बनेका थिए । पहिलो हाफमा युनाइटेडले गोल फर्काउन सकेन ।

ब्रेक पछि बर्नमाउथ युनाइटेडमाथि झन हाबी भयो । ६८ औं मिनेटमा फिलिप बिलिङले हेडर गोल गर्दै अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा मार्कस सेनेसीले पनि हेडर गोलनै गरेपछि युनाइटेडले तीन अंक गुमायो ।

डेंगो औटाराको गोल भने भीएआरले मान्यता दिएन । जसका कारण युनाइटेड थप एक गोल खानबाट जोगियो । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसंगको खेल अघि बेहोरेको यो हारले युनाइटेडलाई दबाबमा पारेको छ ।

प्रिमियर लिगको अघिल्लो खेलमा युनाइटेडले चेल्सीलाई २ - १ गोलले हराएपछि प्रशिक्षक टेन हाखलाई राहत मिलेको थियो । तर यो हारले उनी थप आलोचित भएका छन् । १६ खेलबाट २७ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा छ । १३ औं स्थानको बर्नमाउथको १९ अंक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.