यू-१९ एसिया कप : जित्नै पर्ने दबाबसहित नेपालले आज अफगानिस्तानसँग खेल्दै

मंसिर २४, २०८० |कान्तिपुर टीभी संवाददाता
यू-१९ एसिया कप : जित्नै पर्ने दबाबसहित नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ। पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

अफगानिस्तानको टिममा टिकेर खेल्ने मात्र होइन आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडीसमेत छन् । जामसिद जर्दान, नुमन साह र मोहम्मद योनुसले अघिल्लो खेलमा भारतविरुद्ध उत्कृष्ट पारी खेलेका थिए। यी खेलाडीलाई रोक्नु नेपालको पहिलो लक्ष्य हुनेछ।

यता नेपालको ब्याटिङ लाइनअपलाई पकिस्तानले पहिलो खेलमा तहसनहस पारेको थियो। त्यसैले आज देव खनाल, गुल्सन झा, अर्जुन कुमाललगायत खेलाडीलाई उत्कृष्ट प्रदर्शनको दबाब हुनेछ। आजको खेलमा पराजित भए नेपाल बाहिरिने खतरामा पुग्नेछ। त्यसैले नेपालसँग जितको विकल्प नै छैन ।

अफगानिस्तानका बसिर अहमद, वाहिदुल्लाह जर्दान र खलिल अहमदजस्ता बलरसँग जोगिएर खेल्न सक्नु पर्नेछ। नेपाली बलिङ आक्रमणमा आज दिपेश कँडेललाई आफूलाई सावित गर्ने अर्को अवसर हुनेछ ।

५० ओभरको यो एसिया कपमा नेपालले सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । तर पहिलो खेलमै नेपाल पराजित भयो । प्रतियोगिताको उद्घाटन खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल मंसिर २६ गते भारतसँग खेल्ने छ । अन्डर नाइन्टिन एसिया कपमा आठ टोली सहभागी छन् । समान चार–चार टिम रहेको समूह ए र बी बाट उत्कृष्ट दुई–दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.