काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आज काठमाडौंमा सुरु भएको छ । च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
नेपालका लागि प्रजिस्मा श्रेष्ठले महिला काताको व्याक्तिगत क्याडेट्सतर्फ बंगलादेशकी नाइ स्वे मर्मालाई पछि पार्दै स्वर्ण जितिन् । यस्तै रेहान जावेदले पुरुष काताको व्याक्तिगत क्याडेट्समा बंगलादेशकै क्याव थेन यूलाई पछि पार्दै स्वर्ण हात परेका हुन् । महिला कुमुते व्याक्तिगत क्याडेट्सको ४७ केजी तौल समूहमा पोर्शिया चौधरीले स्वर्ण जितिन् । उनले भारतकी जननी मोहनलाई पछि पारिन् ।
अन्डर ट्वेन्टी वान महिला कुमुते व्यक्तिगत क्याडेट्सकै ४५ केजी तौल समूहमा पार्वती गुरुङले स्वर्ण जितिन् । यस्तै पशुपति लामाले ५० केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाइन् । यसै स्पर्धाको ५५ केजीमा सोनु श्रेष्ठले स्वर्ण हात पार्दा ६८ केजीमा आशिका राई विजयी भइन् ।
दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको तालिकाको दोस्रो स्थानमा रहेको भारतले १५ स्वर्ण र ७ रजतसहित २२ पदक जितेको छ । तेस्रो स्थानको बंगलादेशले १ स्वर्ण र ४ रजत जित्दा श्रीलंकाले १ स्वर्ण र ३ रजत हात पारेको छ । पाकिस्तानको नाममा अहिलेसम्म १ रजत छ भने भुटानले पदकको खाता खोल्न सकेको छैन ।
च्याम्पियनसिपमा क्याडेट, जुनियर, अन्डर ट्वेन्टी वान र सिनियर गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।