काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नरको नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुभएको छ । अर्थमन्त्री संयोजक रहेको समितिमा पौडेल सदस्य हुनुहुन्थ्यो ।
उहाँसँगै राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी पनि समितिमा सदस्य हुनुहुन्छ । यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिको बैठक नराखेको भन्दै सदस्यबाट राजीनामा दिनुभएको थियो । भट्टराईको स्थानमा अधिकारीलाई सदस्य बनाइएको थियो ।
अब पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको सदस्य पद फेरि खाली भएको छ । राष्ट्र बैंकको रिक्त रहेको गभर्नर पदमा एक महिनाभन्दा बढी समयदेखि सरकारले नियुक्ति गर्न सकेको छैन । राजनीतिक सहमति हुन नसकेको पछि यसअघि चर्चामा आएका पात्रहरूको समेत समितिले नाम दिन सकेको छैन न त समितिको बैठक नै बस्न सकेको छ ।
यसैबीच शनिबार सत्तारुढ दलका शीर्ष नेताको बैठकमा डा. पौडेलको नाम गभर्नर पदका लागि विकल्पका रूपमा उठाइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेको दाबी गरिएको छ । गभर्नर नियुक्तिका लागि सबैभन्दा पहिले सिफारिस समितिले पूर्णता पाउनुपर्ने छ । त्यसपछि समितिले दिने ३ नाममध्ये मन्त्रिपरिषद्ले एउटा नाम चयन गर्नेछ ।