काठमाडौं । नेपाल जुडो महासंघले बङ्गलादेशको ढाकामा आयोजना हुने बीकेएसपी कप इन्टरनेशनल जुडो प्रतियोगिताका लागि तौल समूहका १३ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित कराते हलमा अयोजित प्रतियोगितामा महासंघले १३ देखि २१ वर्षसम्मका पुरुषतर्फ ७ र महिलातर्फ ६ खेलाडी छनोट गरेको छ ।
जेठ ११ र १२ गते ढाकामा हुने प्रतियोगिताका लागि पुरुषतर्फ ४५ केजीमुनिको तौल समूहमा रिवाज लामा छनोट भएका छन् । यस्तै ५० केजीमुनि सुभाष श्रेष्ठ, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली छनोट हुँदा ६६ केजीमुनि विशेष विक वाकओभर पाएर छनोट भएका छन् । ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीभन्दा माथिको तौल समूहमा विज्ञान खत्री छनोट हुन सफल भए ।
आजै भएको छनोटमा महिलातर्फ ४४ केजीमुनि अस्मिता नेपाली छनोट भइन् । ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने छन् । ५२ केजीमुनिको तौल समूहमा विनिता नेपाली वाकओभर पाएर छनोट हुँदा ५७ केजीमुनि पेमा याङ्जी शेर्पा र ६३ केजीमुनि एपीएफकी रेखा श्रेष्ठ छनोट भइन् ।
महिलातर्फ ६३ केजीमाथिको तौल समूहमा कुनै खेलाडी सहभागी भएनन् । प्रतियोगिताका लागि नेपाली टोली जेठ ९ गते बङ्गलादेश प्रस्थान गर्ने छन् ।