काठमाडौं । घरेलु टोली भारतले अस्ट्रेलिया विरुद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिज उपाधि जितेको छ । गएराति भएको चौथो टी-ट्वेन्टी आईमा पाहुना टोलीमाथि २० रनको जित हात पार्दै भारत च्याम्पियन बनेको हो । रिंकु सिंह र अक्सर पटेलको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारत एक खेल अगावै उपाधि जित्न सफल भयो ।
रायपुरमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । भारतले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७४ रनको योगफल बनायो । ६६ रनमा भारतले तीन विकेट गुमाएको थियो । यसस्वी जैसवाल ३७, श्रेयस ऐअर ८ र कप्तान सूर्यकुमार यादव एक रनमा आउट भए । चौथो विकेटका लागि ऋतुराज गायकवाड र रिंकुले ४८ रनको साझेदारी गर्दै इनिङस सम्हाले ।
ऋतुराज ३२ रनमा मैदान बाहिरिए । जितेस शर्माले पनि रिंकुलाई राम्रो साथ दिदै १९ बलमा ३५ रन जोडे । उनले र रिंकुले ५६ रनको साझेदारी गरेका थिए । रिकुले २९ बलमा ४६ रनको महत्त्वपूर्ण इनिङस खेले । उनको टी-ट्वेन्टी आई करियरको यो उत्कृष्ट प्रदर्शन हो । ब्रेन ड्रसिसले तीन, जेसन बेहरेनड्रफ र तन्विर साङघाले दुई दुई विकेट लिए ।
जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । आक्रामक सुरुवात गरेको अस्ट्रेलियाले तीन ओभरमा नै ४० रन बनाएको थियो । रवि बिस्नोइले जस फिलिपलाई ८ रनमा आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । लगत्तै अर्का ओपनर ट्राभिस हेड पनि अक्सरको बलमा व्यक्तिगत ३१ रन बनाउँदै पवेलियन फर्किए ।
टिम डेविडलाई १९ रनमा दीपक चाहरले मैदान बाहिरी पठाएपछि भारत हाबी भएको थियो । कप्तान म्याथ्यु वेड ३६ रनमा अविजीत रहे पनि जित दिलाउन भने सकेनन् । अक्सरले चार ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । चाहरले दुई, बिस्नोइ र आभेस खानले एक एक विकेट लिए । भारले सुरुवाती दुई खेलमा जित हात पारेको थियो ।
तेस्रो टी ट्वान्टी आइ अस्ट्रेलियाले जित्यो । तर उत्कृष्ट पुनरागमन गर्दै भारतले पाँच खेलको सिरिजमा तीन एकको अग्रता बनाएको छ । अन्तिम खेल भोलि हुनेछ ।