केपी ओली कप टी-ट्वेन्टी क्रिकेटको तयारी पूरा, विजेतालाई ५ लाख

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी ओली कप टी-ट्वेन्टी क्रिकेटको तयारी पूरा, विजेतालाई ५ लाख

काठमाडौं । पोखरामा मंसिर ७ गतेबाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने तय भएको छ । पोखरा रंगशालमा मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब) तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका दुईवटा गरी १२ टिमको सहभागिता रहनेछ ।

समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी नीलोबिच प्रतिस्पर्धा हुनेछ ।

उपाधि विजेताले नगद ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयलाई २ लाख ५० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

म्यान अफ दी सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट ब्याटर र बलरले जनही नगद २०/२० हजार रुपैयाँ र म्यान अफ दी म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्न करिब ७७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.