इस्लामाबाद । वर्ल्डकप क्रिकेटमा खराब प्रदर्शन गरेको पाकिस्तानी क्रिकेट टोलीको बलिङ कोचका लागि दुई पूर्वक्रिकेटरलाई नियुक्त गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार उमर गुल र सइद अजमल पाकिस्तानी टिमको बलिङ कोच (प्रशिक्षक) मा नियुक्त गरिएको हो ।
पाकिस्तानी टिम आगामी डिसेम्बरमा अस्ट्रेलियाको भ्रमणमा जाँदै छ । जहाँ टिमले तीन टेस्ट र पाँचवटा टी-ट्वेन्टी म्याच खेल्नेछ । अहिले पाकिस्तानी टिमको कप्तानको जिम्मेवारी सान मसुदलाई दिइएको छ । यो खेलका लागि टिम घोषणा सोमबार गरिएको थियो ।
उमर गुल र सइद अजमलको करियर
उमर गुल कुनै समय पाकिस्तानी टिमको नियमित सदस्य थिए । उनले सन् २००३ देखि २०१६ सम्म पाकिस्तानका लागि खेलेका थिए ।
दायाँहाते तीव्र गतिका बलर गुलले पाकिस्तानका लागि ४७ टेस्टमा १६३ विकेट, १३० वान डेमा १७९ विकेट र ६० वटा टी-ट्वान्टीमा ८५ विकेट लिएका छन् ।
यस्तै सइद अजमल अफ स्पिनर हुन् । उनले सन् २००९ देखि १०१५ का बीच पाकिस्तानका लागि ३५ टेस्ट, ११३ वान डे र ६४ टी-ट्वान्टी म्याच खेलेका छन् । अजमलले टेस्ट म्याचमा १७८, वन डेमा १८४ र टी-ट्वेन्टीमा ८५ विकेट लिएका छन् ।