फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा अल्काराज र जोकोभिच भिड्ने

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा अल्काराज र जोकोभिच भिड्ने

पेरिस । विश्व नम्बर एक कार्लोस अल्काराज र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा आमनेसामने हुने भएका छन् ।

स्पेनिस अल्काराजले क्वाटरफाइनलमा ग्रिसका स्टेफानोस चिचिपासलाई सोझो सेटमा पराजित गर्दै जोकोभिचसँगको भेट पक्का गरेका हुन् ।

२० वर्षीय अल्काराजले पहिलो सेट ३४ मिनेट समय लगाएर ६ - २ ले जितेका थिए । दोस्रो सेट भने सहजै ६ - १ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा भने पाँचौ वरीयताका चिचिपासले अल्काराजलाई कडा चुनौती दिए । टाइब्रेकरमा पुगेको यो सेट अल्काराजले ७ - ६ ले जिते ।

फ्रेन्च ओपनमा अल्काराज पहिलो पटक सेमिफाइनल पुगेका हुन् । उनी करियरको दोस्रो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन् । त्यसका लागि सबैभन्दा पहिले अन्तिम चारमा सर्वियाका जोकोभिचको चुनौती पन्छाउनु पर्ने छ । विश्व वरीयताको तेस्रो स्थानमा रहेका जोकोभिचले क्वाटरफाइनलमा रुसका करेन काचानोभमाथि चार सेटको पुनरागमन जित हात पारेका हुन् । उनले एघारौँ वरीयताका काचानोभविरुद्धको पहिलो सेट ४ - ६ ले गुमाएका थिए । दोस्रो सेट टाइब्रेकरमा पुग्यो । तर दुई पटकका फ्रेन्च ओपन विजेता ३६ वर्षका जोकोभिचले ७ - ६ ले जिते ।

त्यसपछिका दुई सेटमा उनले काचानोभलाई ६ - २, ६ - ४ ले पराजित गरे । जोकोभिचले पुरुषतर्फ कीर्तिमानी २३ औँ ग्रान्डस्लाम जित्ने सम्भावना उच्च छ । समग्रमा अल्काराज र जोकोभिच दोस्रो र ग्रान्डस्लाममा पहिलो पटक भिड्दैछन् । यो प्रतिस्पर्धालाई उदयीमान खेलाडी र लेजेन्ड बीचको प्रतिस्पर्धाका रुपमा हेरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.