साफ च्याम्पियनसिप : नेपालको तयारी सधैं फितलो

जेष्ठ २२, २०८० |खेल ब्युरो
साफ च्याम्पियनसिप : नेपालको तयारी सधैं फितलो

काठमाडौं । नेपाली फुटबल टिमको सबैभन्दा ठूलो सपना साफ च्याम्पियनसिपको उपाधि जित्नु हो । नेपालले साफको २८ वर्षे इतिहासमा यो उपाधि उचाल्न सकेको छैन । तर हरेक संस्करणको साफका लागि नेपालको तयारी भने फितलो हुने गरेको छ । यसपटक पनि कठिन समूहमा रहेको नेपाल मात्र एक दिनको अभ्यासमै साफ खेल्न जाँदैछ ।

सहिद स्मारक ए डिभिजन लिग यही जेठ २७ गते सकिँदैछ । त्यसपछि बल्ल खेलाडी रिलिज हुने छन् । बिना विश्रामको लिग खेलेर थकित खेलाडीलाई प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनसले एक दिन बन्द प्रशिक्षणमा राख्ने छन् । नेपाली टोलीले जेठ ३२ गते नै फिलिपिन्ससँग मैत्रीपूर्ण खेल्नेछ । त्यसको एक सातामै भारतमा दुई आमन्त्रित राष्ट्र सहित ८ टिमले भाग लिने साफमा नेपाल सहभागी हुनेछ । नेपाल साविक विजेता भारत, विश्वकप खेलिसकेको कुवेत र इङ्लिस लिग खेलिरहेका खेलाडीको बाहुल्यता रहेको पाकिस्तान रहेको कठिन समूहमा छ । तर नेपालले तयारी सुरु गरेको छैन् ।

शहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनबाट बच्ने र उपाधि जित्ने रोमान्चक होड चलिरहेको छ । क्लबसँग सल्लाह नगरी एन्फाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण थालेको थियो । लिगको बिचमा खेलाडी नदिने क्लबहरुले अडान राखेपछि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनसले मात्रै एक दिनमा बन्द प्रशिक्षण रोक्न पर्यो । क्लब र एन्फाबीच आफ्नै विवाद छ । एन्फाले दिने तयारी खर्च क्लबहरुले पहिलो किस्ताबाट पाएका छैनन् ।

एन्फाको आन्तरिक क्यालेन्डर भद्रगोल भएकै कारण अन्तर्राष्ट्रिय सहभागिता सोच्नसमेत पदाधिकारीलाई फुर्सद छैन । एन्फाले भद्रगोल अवस्थामा भइरहेको लिगलाई तयारी मानिरहेको छ । मात्रै एक दिनको प्रशिक्षण र एउटा मैत्रिपूर्ण खेलले साफको तयारी पूरा हुने दाबी एन्फाको छ ।

अघिल्लो संस्करणमा नेपालले पर्याप्त अन्तर्राष्ट्रिय एक्सपोजर पाएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता र नियमित जसो मैत्रिपूर्ण खेलको कारण नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलको यात्रा गरेको थियो । तर अहिले बलिया राष्ट्रको समूहमा परेको नेपाललाई अघिल्लो चरण प्रवेश गर्नै हम्मेहम्मे नहोला भन्न सकिँदैन ।