भोलिदेखि राष्ट्रिय रग्बी सेभेन्स

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
भोलिदेखि राष्ट्रिय रग्बी सेभेन्स

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

राजधानीमा शुक्रबार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिबार र आइतबार हुने दुईदिने प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली गरी ५ प्रदेशको सहभागिता र तीन विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लब) ले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी हुने छैनन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.