१९औं एसियाली खेलकुदको तयारीका लागि सचिवालय स्थापना

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
१९औं एसियाली खेलकुदको तयारीका लागि सचिवालय स्थापना

काठमाडौं । चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्‌मा सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको सचिवालय शुक्रबार स्थापना गरिएको हो । सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गरे । उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति थियो ।

सचिवालयको उद्घाटनपछि युवा तथा खेलकुदमन्त्री लिम्बूले एसियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए । नतिजा निकाल्न एकजुट भएर काम गर्न भन्दै मन्त्री लिम्बूले स्वार्थभन्दा माथि उठेर काम गर्न र खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण प्रबन्ध गर्न निर्देशन दिए ।

यस्तै सदस्य-सचिव घिसिङले एसियन गेम्सको तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको र सहभागितालाई सरकारले प्राथमिकतामा राखेको धारणा राखे । आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख गरेको र अब विशेष प्रशिक्षणको तयारी भइरहेको समेत जानकारी दिए । सदस्यसचिव घिसिङले साउन १ देखि भदौ १ सम्म खेलाडीको क्लोज क्याम्प राख्ने जनाए ।

सदस्यसचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने जानकारी दिए । उनका अनुसार ओलम्पिक कमिटिमार्फत आयोजकलाई २९ खेलको नाम र खेलाडीको एक्रिडिएसन कार्डका लागि चीनमा पठाइसकिएको छ । राखेपले यसअघि २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा ६ खेललाई अन्तिम समयमा थप गरेको छ ।

Enter Kantipur TV HD
Advertisement