फ्रेन्च ओपनको ड्र : कार्लोस अल्काराज र नोभाक जोकोभिचको भेट सेमिफाइनलमा

जेष्ठ १२, २०८० |खेल ब्युरो
फ्रेन्च ओपनको ड्र : कार्लोस अल्काराज र नोभाक जोकोभिचको भेट सेमिफाइनलमा

पेरिस । विश्व टेनिसको प्रतिष्ठित ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपनको ड्र सार्वजनिक भएको छ । विश्व नम्बर एक कार्लोस अल्काराज र २२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच सेमिफाइनलमा भेट हुने पक्का जस्तै बनेको छ ।

रोनाल्ड ग्यारोसका बादशाह, रफायल नाडालले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् । १४ पटकका ग्रान्डस्लाम विजेता नाडालले नाम फिर्ता लिएपछि सबैको नजर जोकोभिच र युवा स्टार अल्काराजमा रहने छ । २० वर्षिय अल्काराजले पहिलो चरणमा क्वालिफायरसँग प्रतिस्पर्धा गर्नेछन् ।

साथै सेमिफाइनलसम्म पुग्न २०२१ का उपविजेता स्तेफानोस चिचिपास, लोरेन्जो मुसेटी र फेलिक्स अग अलियासिम जस्ता प्रतिद्वन्द्वीसँग अल्काराजको सम्भावित समाना हुने देखिन्छ । यता विश्व नम्बर तीन सर्वियन जोकोभिचका लागि सातौं वरियताका आन्द्रे रुभलेब बाहेक अन्य चुनौती खासै नदेखिएकाले सेमिफाइनलसम्मको यात्रा सहज देखिन्छ ।

विश्व नम्बर दुई ड्यानिल मेदभेदेभले पहिलो चरणमा क्वालिफायरसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नै कठिन प्रतिद्धन्द्धी कास्पर रुड अथवा होल्न रुनसँग प्रतिस्पर्धा हुने सम्भावना छ ।

यता महिलातर्फ साबिक विजेता तथा विश्व नम्बर एक इगा स्वान्तेकले विश्व नम्बर ६७ क्रिस्टीना बुस्कासँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछन् । उनले क्वाटरफाइनलमा कोको गउफसँग खेल्ने निश्चित देखिन्छ । गत संस्करण स्वान्तेकले गउफलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि उचालेकी थिइन ।

महिनाको सुरुवात भएको इटालियन ओपनको फाइनलको यात्रा तय गरेकी एहेलिना कलिनीनाले गउफसँग तेस्रो चरणमा खेल्न देखिन्छ । घरेलु खेलाडी क्यारोलिन गार्सिया र अरिना साबालेन्का बिच क्वाटरफाइनलमा भेट हुने समिकरण बनेको छ ।