रुस र बेलारुसका टेनिस खेलाडीमाथिको प्रतिबन्ध फुकुवा, विम्बल्डनमा सहभागी हुन पाउने

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
रुस र बेलारुसका टेनिस खेलाडीमाथिको प्रतिबन्ध फुकुवा, विम्बल्डनमा सहभागी हुन पाउने

काठमाडौं । युक्रेन युद्धमा सलंग्न रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन टेनिसमा सहभागी हुने पाउने भएका छन् ।

अल इंग्ल्याण्ड क्लबले रुस र बेलारुसका टेनिस खेलाडीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

प्रतिबन्ध फुकुवा भएपछि यी दुई देशका खेलाडीलाई आगामी जुलाईमा सुरु हुने विम्बल्डन टेनिसमा सहभागिताका लागि बाटो खुला भएको छ । गत वर्ष रुसले युक्रेनमाथि सैन्य कारबाही थालेलगत्तै ग्रास कोर्ट ग्रान्ड स्लाम सहभागितामा प्रतिबन्ध लगाइएको थियो । क्लबले एक प्रेस विज्ञप्ति जारी गरी गत वर्ष यी दुई देशका खेलाडीलाई प्रतिबन्ध लगाउनु सरकारको निर्देशन पालना अनुरुप एकमात्र अपरिहार्य विकल्प रहेको बताएको छ ।

विज्ञप्तिमा युक्रेनमाथि समर्थन रहनेसमेत उल्लेख गरिएको छ । तर रुस र बेलारुसका खेलाडीले तटस्थ एथ्लिटको रुपमा सहभागिता जनाउनु पर्ने र निश्चित मापदण्ड पालना गर्नुपर्ने सर्त उल्लेख छ । साथै यसपालि पनि बेलायती सरकारको नियम, विभिन्न अन्तर्राष्ट्रिय अधिकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको छलफलपछि सावधानीपूर्वक रुसी तथा बेलारुसका खेलाडीको प्रतिबन्ध फुकुवा गरिएको हो ।

अघिल्लो वर्ष यी खेलाडीमाथि प्रतिबन्ध लगाउँदा विम्बल्डनले ठूलो अंक गुमाएको थियो भने महिला डब्लुटीए र पुरुषको एटीपीले बेलायतको टेनिसको नियामक निकाय लन टेनिस संघ एलटीए र अल इंग्ल्याण्ड लन टेनिस क्लबलाई कारबाही स्वरुप जरिवाना तिराएको थियो । गत वर्ष रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध लगाउने विम्बल्डन एकमात्रै ग्रान्डस्लाम प्रतियोगिता थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.