डर्टमन्ड बुन्डेस लिगाको शीर्ष स्थानमा

चैत्र ५, २०७९
डर्टमन्ड बुन्डेस लिगाको शीर्ष स्थानमा

जर्मनी । जर्मन लिग बुन्डेस लिगामा बोरुसिया डर्टमन्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोल्नमाथि ६ - १ गोलको फराकिलोको जित हात पार्दै डर्टमन्ड तालिकाको शिर्ष स्थानमा उक्लेको हो । उसको जितमा सेबास्टिय होला र कप्तान मार्को रुइसले २ - २ गोल गरे ।

सन् २०१२ पछि पहिलो पटक बुन्डेस लिगा उपाधि उचाल्ने लक्ष्यमा रहेको डर्टमन्डले पहिलो हाफमै ४ गोल गरेको थियो। खेलको १५ औँ मिनेटमा रफायल गुइरेरोले गोल गरेर घरेलु टोलीलाई अघि राखे । डनवेल मालेनले दिएको पासमा गुइरेरोले डर्टमन्डलाई अग्रता दिलाएका हुन् । त्यसको २ मिनेटमै क्यान्सर पछि निको भएर खेलमा फर्किएका आइभेरी कोस्टका स्ट्राइकर होलाले अग्रता दोब्बर बनाए ।

३२ औँ मिनेटमा रुइसले गोल थपे । त्यसको ४ मिनेटमा मालेनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मार्भिन स्वाँले रोक्न सकेनन् ।

४२ औँ मिनेटमा डेभी सेल्केले पाहुना टोली कोल्नका लागि गोल फर्काए । उनको कोल्नका लागि यो पहिलो गोल हो । ६९ औँ मिनेटमा होलाले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको एक मिनेटपछि रुइसले पनि आफ्नो दोस्रो गोल गरे । मो दाउदले गरेको फ्रि-किक प्रहार बारमा लागेर फर्किंदा उनले गोल गरेका हुन् । योसँगै रुइसले डर्टमन्डबाट बुन्डेस लिगामा एक सय पचासौँ गोल पूरा गरेका छन् । सबै प्रतियोगितामा गरी उनेको यो एक सय ६१ औँ गोल हो । शीर्ष स्थानमा रहेको डर्टमन्डको २५ खेलबाट ५३ अंक छ ।