एभर्टनसँग बराबरीमा रोकियो चेल्सी

चैत्र ५, २०७९
एभर्टनसँग बराबरीमा रोकियो चेल्सी

लन्डन । इंग्लिस प्रिमियर लिगमा चेल्सी एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको छ। एभर्टनले दुई पटकपछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याउन सफल भएको हो ।

स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चार वटै गोल दोस्रो हाफमा भएका हुन् । ५२ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरेर घरेलु टोली चेल्सीलाई अघि राखे । ६९ औँ मिनेटमा अब्डुलाय डुकोयले गोल गर्दै खेललाई बराबरीमा ल्याए । कर्नरबाट आएको बलमा उनले गोल गरेका हुन् ।

७६ औँ मिनेटमा फेरि काइ हार्भेटजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अघि राखे । रिस जेम्सलाई जेम्स तार्कोस्कीले फउल गरेपछि पाएको पेनाल्टीमा हार्भेटजले गोल गर्न कुनै गल्ती गरेनन् । तर खेलको अन्तिम समयतिर एर्भटनका लागि एलिस स्लिम्सले गोल गर्दै टिमलाई हारबाट जोगाए ।

२२ वर्षीय स्थानीय खेलाडीको यो क्लबका लागि पहिलो गोल हो । निधारित समय सकिन मात्रै एक मिनेट बाँकी छँदा उनले पोस्ट नजिकैबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । योसँगै सिन डायचको टोलीले रेलिगेसन जोनभन्दा एक अंकको अग्रता बनाएको छ । चेल्सी १० औँ स्थानमा यथवात् छ ।