इन्डियन वेल्स टेनिसको फाइनलमा रेबाकिना

चैत्र ४, २०७९
इन्डियन वेल्स टेनिसको फाइनलमा रेबाकिना

क्यालिफोर्निया । एलिना रेबाकिना डिफेन्डिङ च्याम्पियन इगा स्वायंतेकलाई पराजित गर्दै इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।

रेबाकिना २ सेटको सहज जित निकाल्न सफल भएकी हुन् । अष्ट्रेलियन ओपनको चौथो चरणमा स्वायंतेकविरुद्ध प्रभावसाली जित निकालेको दुई महिनापछि रेबाकिनाले विश्व नम्बर एक स्वायंतेकविरुद्ध अर्को महत्वपूर्ण जित दर्ता गरेकी हुन् । रेबाकिना भने अहिले विश्व बरियताको दशौं स्थानमा छन् ।

काजकिस्तानकी रेबाकिनाले सुरुवात देखिनै खेल आफ्नो नियन्त्रणमा राखिन् । सेट प्वाइन्टमै स्वायंतेकले दुई गल्ती गरेपछि रेबाकिना खेलमा हाबी भएकी हुन् । पहिलो सेटमा ६-२ ले जितेकी उनले दोस्रो सेटमा पनि समान ६-२ कै जित हात पारिन् ।

खेल जित्न उनलाई एक घण्टा १६ मिनेट मात्र खर्चनु पर्यो । उनले अब उपाधिका लागि एरेना सबालेन्कासँग खेल्नेछन् । बेलारुसकी सबालेन्काले ग्रीसकी मारिया सक्कारीविरुद्ध ६-२ र ६-३ को जित निकाल्दै फाइनल यात्रा तय गरेकी हुन् ।

वर्षको सुरुवातमा अष्ट्रेलियन ओपनको फाइनल पनि यी दुवैले खेलेका थिए । सबालेन्काले रेबाकिनालाई निराश बनाउँदै फाइनल जितेकी थिइन् । हेड टु हेडमा सबालेन्का ४-० ले अघि छन् ।