खाँदबारी रंगशालामा खेलकुद प्रतिस्पर्धा हेर्न उर्लिएको भीड (भिडियो)

चैत्र ४, २०७९ |दीपेन्द्र शाक्य
खाँदबारी रंगशालामा खेलकुद प्रतिस्पर्धा हेर्न उर्लिएको भीड (भिडियो)

संखुवासभा । संखुवासभाको खाँदबारी रंगशालामा दर्शकको भीड बढेको छ । चार दिन चलेको राष्ट्रपति रनिङ-शिल्ड प्रतियोगितामा जिल्लाभरका विद्यालयबाट आएका विद्यार्थीको खेलका कला कौशल हेर्नेको भीड लागेको छ । रमाइलो त के छ भने, एउटै खेल मैदानमा एकै समयमा १८ विधाका बेग्लाबेग्लै प्रतियोगिता सञ्चालन भए ।

संखुवासभाको खाँदबारी रंगशालामा भलिबलदेखि कबड्डीसम्मका खेलको मज्जा दर्शकले लिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजकले एकै पटकमा रंगशालामा कराँते, दौड, भलिबल, कबड्डी, सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, लङजम्पलगायत १८ विद्यामा प्रतिस्पर्धा गराएका थिए । खेलमा जिल्लाभरका २८ विद्यालयको समहभागिता रहेको थियो । हिमाली क्षेत्रका खेलाडीको खेलप्रति धेरैको आकर्षण देखियो ।

विद्यार्थीले खेल हेरेर खेलका कौशल सिक्ने अवसर पाए भने विभिन्न क्षेत्रका विद्यार्थीले एकआपसमा चिनजान गर्ने अवसर मिल्यो । एउटै मैदानमा सबै प्रकारको खेल हेर्दा रमाइलो भएको दर्शकको प्रतिक्रिया छ ।

एकै ठाउँमा धेरै प्रकारको खेल हेर्न पाईने भएपछि फूर्सदिला र खेलमा मज्जा लिनेहरु यसपालि बढेको आयोजकको भनाइ छ । व्यवस्थित नभएको घाँसे मैदानमा भएको खेलमा दर्शकको आकर्षणले स्थानीय तहलाई खेल मैदान व्यवस्थित गर्न पक्कै पनि दबाब पुगेको हुनुपर्छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।