नेपाली क्रिकेट एक तह माथि : क्यान अध्यक्ष चन्द (भिडियोसहित)

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाली क्रिकेट एक तह माथि : क्यान अध्यक्ष चन्द (भिडियोसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको जनाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग-टूमा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा शुक्रबार अध्यक्ष चन्दले विश्वकप क्वालिफायरमा छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेका रुपमा क्यानले लिएको जनाए । अध्यक्ष चन्दले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको धारणा राखे । उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभई खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिए ।

‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महसुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेट खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ । राज्यको प्राथमिकतमा मात्रै होइन, पहिलो प्राथमिकतमा खेलकुद क्षेत्रमा पर्नुपर्छ । खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्छु,’ उनले भने, ‘ठूलो प्रतियोगिताको तयारी हामी गर्दै छौं, त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने जनाए । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गरे । उनले बिहीबार यूएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शक पुगेको दाबी पनि गरे ।

खेलाडीलाई राष्ट्रपतिको हौसला, भन्छन्- खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु हुँदैन