काठमाडौं । संसद्को राष्ट्रिय सरोकार समितिले दुई वटा क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकमा समितिले खेलकूद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मुलपानी क्रिकेट रंगशाला तथा गिरिजाप्रसाद क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने मन्त्रालय अन्तर्गत बहुवर्षे योजना नभएको तथा मन्त्रालयमा काम गर्ने जनशक्ति नभएको गुनासो गर्नुभएको थियो । त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा समेत बजेट अभाव भएको बताउनु भएको थियो ।
यस्तै समितिले वातावरणीय प्रभाव मूल्यांकन- को काम छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
समितिले जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।