काठमाडौं । कर्णाली प्रदेशमा चैत अन्तिम साताबाट आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालय आज काठमाडौंमा उद्घाटन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को भवनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालय उद्घाटन गर्नुभएको हो । राष्ट्रिय प्रतियोगिता आयोजना हुन अब तीन महिना बाँकी छ।
प्रतियोगिता आयोजनाका लागि बनेको कार्यविधि युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। त्यसपछि कानुन मन्त्रालयमा गएर चाँडै पारित गराउने र ठेक्का प्रकृया सुरु गर्ने मन्त्री चौधरीले बताउनु भयो ।
प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधार, सडक, सुरक्षा, अस्पताल, बसोबासलगायत अनुगमनका लागि सचिवालय सदस्य कर्णाली जाने छन् । सुर्खेतलगायत जिल्लामा अनुगमनपछि फर्किएको टोलीले खेलकूद परिषद् बोर्ड बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछन्। आगामी ३ माघमा बस्ने राखेपको बोर्ड बैठकले राष्ट्रिय खेलकुदबारे निर्णय गर्नेछ।
कर्णाली सरकार आफैंले प्रतियोगिता आयोजनाको जिम्मेवारी लिन नसक्दा पनि व्यवस्थापनमा अझैसम्म पनि अन्योल छ। यता, प्रतियोगिताका लागि प्रदेशहरुले खेलाडीको नामावली संकलन गरेको भए पनि छनोट गरेका छैनन्।
अघिल्लो महिना बसेको राखेपको बोर्ड बैठकले प्रतियोगिताको मिति चैतमा प्रस्ताव गरेको हो । अत्यावश्यक पूर्वाधार निर्माण नै नसकिएपछि गत मंसिर २ गतेदेखि हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा सारिएको हो। नवौं राष्ट्रिय खेलकुद २०७९ कार्तिक मंसिरमा गण्डकी प्रदेशले आयोजना गरेको थियो। कर्णालीमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो।