बुटवल । त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लब यसअघि नै फाइनलमा पुगेको थियो ।
बुटवलको रामनगर खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
फाइनलमा ठाउँ सुरक्षित गर्दा आर्मीले पहिलो सेट २५-१८, दोस्रो २५-१३ र तेस्रो सेट २५-१९ ले जित्यो । तेस्रो र सान्त्वना स्थानका लागि भोलि बिहान १० बजे गुजरात स्टेट भलिबल र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल दिउँसो एक बजे विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुनेले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार १ लाख रहेको छ । उत्कृष्ट खेलाडी तथा अन्य विधागततर्फ समेत नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।