सबै खेलमा सुखद् नतिजाको अपेक्षा राखेका छौं : कप्तान पौडेल

फाल्गुन २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सबै खेलमा सुखद् नतिजाको अपेक्षा राखेका छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने शृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको जनाएका छन् ।

विश्वकप क्रिकेट लिग टूअन्तर्गत नेपालले बिहीबारबाट लिगको अन्तिम शृंखला खेल्दै छ । शृंखलामा संयुक्त अरब इमिरेट्स (यूएई), पपुवा न्युगिनी (पीएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने शृंखलामा नेपालले सबै खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने जनाए ।

पछिल्लोपटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने जनाए । उनले घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क थियो । शीर्ष तीनमा अटाउन गरिएको योजनाअनुसार शृंखलाका खेलहरु भइरहेको र अन्तिम शृंखलामा पनि अपेक्षाअनुसारको नतिजा आउने कप्तान रोहितको भनाइ छ ।

कप्तान रोहितले यूएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे । उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किनेसमेत जनाए ।

यस्तै प्रशिक्षक मोन्टी देशाई बिहीबार हुने चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको जनाए । यूएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम शृंखला भएकाले खेलहरु प्रतिस्पर्धात्मक हुने अपेक्षा राखे ।

यस्तै शृंखलामा सहभागी हुन नेपाल भ्रमण गरेका टोलीद्वय यूएई र पीएनजीले पनि सुखद् नतिजाका लागि घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने जनाएका छन् । सो क्रममा यूएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको शृंखला नयाँ भएको र एक दिवसीय मान्यताका लागि मिहिनेत गर्ने जनाए । उनले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेकोसमेत बताए ।

उता विश्वकप क्रिकेट लिग टूको पुछारमा रहेको टोली पीएनजीका कप्तान असद भालाले पछिल्लो समय टोलीले नतिजा सुम्पिए पनि सम्मानजनक खेल खेलेको दाबी गरे । सोही खेलमा भएको केही कमी-कमजोरी सुधार्दै खेल्न सके अन्तिम शृंखलामा सुखद् नतिजा निकाल्ने उनको भनाइ छ । सोही लक्ष्यका साथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगमा सुखद् अन्त्य गर्ने योजनामा टोली रहेको असदले जनाए ।

घरेलु मैदानमा बिहीबार हुन लागेको अन्तिम शृंखलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जसमा यूएईमा भर्खरै सम्पन्न लिग टू खेलेका खेलाडीले नै निरन्तरता दिइएको छ । शृंखला फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । लिग टूको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.