‘ए’ डिभिजन लिग फागुन १९ देखि

पुस १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘ए’ डिभिजन लिग फागुन १९ देखि

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लब र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फा र क्लबका पदाधिकारीबीच भएको छलफलमा लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।

यसअघि एन्फाले पुस २६ गतेदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लबहरूलाई टिम दर्ता गर्न समयसीमा तोकेको थियो । तर, उक्त दिन बसेको एन्फा र क्लब पदाधिकारीको बैठक दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए ।

एन्फाले योपटक डबल राउन्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो । विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्चबापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो ।

एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लबहरूलाई दिन बाँकी नै छ । उक्त रकम थपेर एन्फाले क्लबहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ । एन्फाले नयाँ सिजनको लिग सुरु गर्न पहिलो किस्तास्वरूप १५ लाख र बक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लबहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो । मंसिर २५ भित्र क्लबहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.