'पश्चिम नेपालमा खेल पर्यटन विकासको ढोका खुल्यो'

मंसिर २४, २०७९ |जे पाण्डे
'पश्चिम नेपालमा खेल पर्यटन विकासको ढोका खुल्यो'

बाँके । नेपालगन्जमा आज भएको आठौँ म्याराथनले पश्चिम नेपालमा खेल पर्यटनको विकासको ढोका नै खोलिदिएको छ । यसले नेपालगन्जलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सहयोग पुगेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्ट्यान्स रनिङ -एम्सले नेपालगन्ज म्याराथनलाई रुटको अनुमति दिएको थियो ।

काठमाडौं र  पोखरा म्याराथनको तुलनामा  नेपालगन्ज  म्याराथनको ४२ किलोमिटर मार्ग सहज थियो । समतल भूमिमा आफ्नो प्रतिभा देखाउँदा खेलाडी जति उत्साहित थिए त्यति नै खेल प्रेमी हौसिएका थिए ।

नेपालगन्जमा पहिलो पटक अन्तर्राष्ट्रिय धावकले म्याराथन दौडिने र रुटको अवस्था बुझ्ने अवसर पाए । यस पटक ४ जना विदेशी खेलाडीसमेत  नेपालगन्ज म्याराथन सहभागी भए ।

नेपाली खेलकुदमा दशकौँ अगाडिदेखि म्याराथनका विभिन्न प्रतिस्पर्धा भएको पाइन्छ। तर, ती सबै आधिकारिक थिएनन् । किनकि ती न एम्सका सदस्य थिए न त आधिकारिक रूपमा रुट नै नापिएको थियो। तर नेपालगन्ज म्याराथनको यो आठौँ संस्करण ऐतिहासिक  बन्न पुग्यो ।

आठौँ म्याराथनले नेपाली खेलकुदमा ठुलो अवसर तयार  पारेको छ । योसँगै चुनौती पनि थपेको छ । किनकि  नेपालगन्ज म्याराथन अब घरेलु खेलाडीमै मात्र सीमित हुने छैन ।  ख्याति कमाएका र  नाम चलेका धावकले पनि नेपालगन्ज म्याराथनलाई आफ्नो गन्तव्य  बनाउन सक्ने भएकाले आयोजक सामु चुनौतीका चाङ नै चाङ देखिएका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।