स्पेनिस ला-लिगाको बहु-प्रतिक्षित खेल एल क्लासिको आज हुँदै

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनिस ला-लिगाको बहु-प्रतिक्षित खेल एल क्लासिको आज हुँदै

काठमाडौं । स्पेनिस ला-लिगाको बहु-प्रतिक्षित खेल एल क्लासिको आज हुँदै छ । कार्लो एन्सेलोटीको रियाल मड्रिडले आज राति एस्टाडियो सान्टियागो बर्नाबेउमा बार्सिलोनालाई स्वागत गर्दै छ ।

ला लिगाको महत्वपूर्ण मुठभेड तथा यस सिरिजको पहिलो एल क्लासिकोअघि दुवै टोली प्रभावशाली लयमा छन् । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ । यो सिजन हान्सी फ्लिकको नेतृत्वमा टोलीले असाधारण प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ४-१ ले स्तब्ध बनाएपछि बार्सा आफ्नो कट्टर प्रतिद्वन्द्वी रियालविरुद्ध समान नतिजा हासिल गर्ने लक्ष्यमा राख्ने छ ।

रियाल मड्रिड लिग तालिकाको दोस्रो स्थानमा छ । च्याम्पियन्स लिगमै बोरुसिया डर्टमन्डलाई ५-२ ले हराएको घरेलु टोली यस खेलअघि आत्मविश्वासी देखिन्छ । गत सिजन दुवै एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेको रियाल यस पटक पनि त्यही नतिजा दोहोर्याउने योजनामा हुने छ ।

एल क्लासिकोमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिन्छ । रियालले २ सय ५७ खेलमध्ये १०५ जितेको छ भने बार्सिलोनाको नाममा १ सय जित छ । अपराजित बार्सा १० खेलमा ९ जित र १ बराबरीसहित २७ अंक जोडेर शीर्ष स्थामा छ । समान खेलमा ७ जित हात पारेको रियालले पनि हार बेहोरेको छैन । रियाल २४ अंकसहित दोस्रो स्थानमा छ ।

यस खेलमा बार्सिलोनालाई अंक दुरी बढाउने अवसर छ भने रियाललाई अंक दुरी बराबरीमा झार्ने अवसर । यस सिरिजको पहिलो एल क्लासिको राति पौने १ बजे सुरु हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.