बाराको कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर सडक निर्माण अलपत्र

चैत्र २६, २०८२
बाराको कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर सडक निर्माण अलपत्र

बारा । १४ वर्षदेखि अधुरो रहेको बाराको कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर सडक निर्माण फेरि अलपत्र परेको छ । मानवत - मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको मुख्य बजार क्षेत्र स्तरोन्नतिको काम दोस्रो पटक थपिएको म्यादभित्र पनि सम्पन्न नभएपछि अलपत्र परेको हो ।

बाराको कलैया बजार क्षेत्रमा रहेको यो सडक १४ वर्षदेखि धुलो, हिलो र अव्यवस्थित रुपमै सञ्चालनमा रहेको छ । पटक–पटक ठेक्का परिवर्तन भएपनि कामले गति लिन सकेको छैन । संस्कार एफएमदेखि भरत चोकसम्म नाली निर्माण भएको देखिए पनि अन्य खण्डमा काम सुस्त छ । 

सितलपुरमा नालीको काम सकिएको छ भने भरत चोकदेखि दुर्गा माविसम्म आंशिक रूपमा मात्र नाली निर्माण गरिएको थियो । तर सबैभन्दा महत्वपूर्ण मानिने कालोपत्रेको काम भने शून्य अवस्थामा रहेको कलैयाका शशी दासले बताउनुभयो । 

निर्माणमा भइरहेको ढिलासुस्तीले बजार क्षेत्रको व्यापारिक गतिविधि प्रभावित भएको छ । स्थानीय व्यवसायीहरू ग्राहकको आवागमन घट्दा प्रत्यक्ष मारमा परेका छन् भने धुलो र हिलोका कारण सर्वसाधारणले दैनिक आवतजावतमा सास्ती भोगिरहेका छन् ।

अधुरो साढे ३ किलोमिटर सडकका लागि तीनपटक ठेक्का फेरिएको छ । पहिलो ठेक्का पाएको भिस्वा कन्ट्रक्सनले बीचमै काम छाडेपछि दोस्रो पटक आशीष - डिएस जेभीलाई जिम्मा दिइयो । तर त्यो कम्पनीले पनि काम अघि बढाउन नसकेपछि २०७८ पुस २७ गते सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभीसँग २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा सम्झौता गरिएको थियो ।

सुरुमा २०७९ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने योजना सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन अनुसार म्याद थप्दै २०८२ चैत ४ गतेसम्म थपिएको थियो । पछिल्लो म्याद पनि सकिँदा २३ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले भने अब भने पटक पटक म्याद थप नहुने स्पष्ट पारेको हुलाकी आयोजना कार्यालय, वीरगञ्जका  सूचना अधिकारी धर्मेन्द्र दासले बताउनुभयो ।

१४ वर्षदेखि अधुरो रहेको यो सडक कहिले पूरा हुन्छ भन्ने प्रश्नको जवाफ सरकारी निकायसँग पनि छैन । स्थानीयले भने अब काम शीघ्र सम्पन्न गरिनुपर्ने माग गरेका छन् ।