
हुम्ला । हिमाली जिल्ला हुम्ला फेरि एकपटक लोकतान्त्रिक अभ्यासको ऐतिहासिक घडीमा उभिएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले जिल्लाका सातै गाउँपालिकामा निर्वाचन सुरक्षा बेस स्थापना गर्नु केवल प्रशासनिक तयारी मात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धताको स्पष्ट सन्देश पनि हो।
भौगोलिक रूपमा दुर्गम, सडक सञ्जाल सीमित र मौसमीय चुनौतीले घेरिएको हुम्लामा निर्वाचन गराउनु आफैंमा जटिल कार्य हो। यस्ता चुनौतीका बीच सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सेना रणनीतिक रूपमा तैनाथ भएको छ। शत्रुभञ्जन गुल्म, रानिबन ब्यारेकका गुल्मपति सेनानी हरिबाबु श्रेष्ठका अनुसार प्रत्येक गाउँपालिकामा पलाटुन अपरेटिङ बेस स्थापना गरी मतदान केन्द्र, मतपेटिका ढुवानी मार्ग र संवेदनशील बस्तीहरूमा निगरानी कडा बनाइएको छ।
यसअघि नै निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत सर्केगाड र ‘ख’ अन्तर्गत सिमकोटमा कम्पनी अपरेटिङ बेस स्थापना गरि नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरीले दैनिक संयुक्तरुपमा गस्ती सञ्चालन हुँदै आएका थियो । अब ताँजाकोटको थापागाउँदेखि नाम्खाको याल्वाङसम्म सुरक्षा घेरा विस्तार भएसँगै हुम्ला पूर्ण रूपमा निर्वाचन सुरक्षाको दायराभित्र आएको छ।
सेनाको उपस्थितिले दुईवटा सन्देश दिएको छ - एकातिर मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन सुरक्षा प्रत्याभूति, अर्कोतिर निर्वाचन बिथोल्ने, धम्की दिने वा अवाञ्छित गतिविधि गर्ने तत्वलाई कडा चेतावनी। लोकतन्त्रको मूल आधार जनताको स्वतन्त्र मताधिकार हो, र त्यसको संरक्षण राज्यको पहिलो कर्तव्य। यही कर्तव्य निर्वाह गर्न सेना उच्च सतर्क अवस्थामा देखिएको हो।
अब भने सुरक्षालाई अझ सूक्ष्म र स्थानीय स्तरसम्म विस्तार गर्दै ताँजाकोटको थापागाउँ, अदानचुलीको श्रीनगर, चंखेलीको पिप्लाङ, सर्केगाड, खार्पुनाथको सुनाखाडा, सिमकोटको रानिबन र नाम्खाको याल्वाङमा पलाटुन अपरेटिङ बेस स्थापना गरिएको छ। यससँगै हुम्लाको प्रत्येक पालिका केन्द्र प्रत्यक्ष सुरक्षा निगरानीभित्र आएको छ।
हुम्लामा निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र होइन; यो दुर्गम भूगोलमा लोकतन्त्रको उपस्थितिको परीक्षण पनि हो। आकस्मिक विपद्, मौसमीय अवरोध वा अन्य अप्रत्याशित परिस्थितिमा समेत तत्काल उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहनु सेनाको अर्को महत्वपूर्ण पक्ष हो।
अन्ततः, सुरक्षाको यो मजबुत संरचनाले निर्वाचनलाई विश्वसनीय, व्यवस्थित र शान्तिपूर्ण बनाउने विश्वास बढाएको छ। हिमालको काखमा बस्ने नागरिकले अब निर्धक्क रूपमा मताधिकार प्रयोग गर्न सक्ने वातावरण तयार भएको छ। लोकतन्त्रको उत्सव सफल बनाउन सुरक्षा संयन्त्रको यो सक्रियता सकारात्मक संकेतका रूपमा लिन सकिन्छ।