
मुगु । मुगुको सोरु गाउँपालिका- १० र ११ नम्बर वडामा फैलिएको अज्ञात रोगले झण्डै २ सयभन्दा धेरै भेडाबाख्रा मरेका छन् । यी वडाको कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोटलगायत गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण २ सयभन्दा धेरै भेडाबाख्रा मरेको स्थानीय रत्नलाल देवकोटाले जानकारी दिनुभयो । फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, दिसा गनाउँने, दुब्लाउँदै जाने, झोक्राउँनेजस्ता लक्षणले भेडाबाख्रा धमाधम मरिरहेको देवकोटाले बताउनुभयो ।
गोठ नै रित्तिने अवस्था आउँदा पनि सोरु गाउँपालिकाले चासो नदिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीय देवीभक्त प्याकुरेलका अनुसार नजिकै कुनै पशु स्वास्थ्य कार्यालय नभएकाले परामर्श लिन सदरमुकाम पुग्नै एक दिन लाग्ने गरेको छ । ११ नम्बर वडाका अध्यक्ष वीरजंग शाहीले अज्ञात रोगले भेडाबाख्रा मरेको साँचो भए पनि एकै दिनमा सबै नमरेको बताउनुभयो।
गाउँपालिकाको पशु शाखा प्रमुख पूर्णबहादुर सेजुवालले रोग पहिचान र नियन्त्रणको लागि औषधि खरिद नभएको जानकारी दिनुभयो । पालिका अध्यक्ष धर्मबहादुर शाहीले भने रोग नियन्त्रण तथा औषधि उपचारको लागि पशु शाखाबाट प्राविधिक टोली बिहीबार नै खटाइने बताउनुभएको छ ।