जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको आयोगले छानबिन थाल्यो

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको आयोगले छानबिन थाल्यो

काठमाडौँ । जेन-जी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन तथा आन्दोलनपछि भएको तोडफोड र आगजनीका विषयमा छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आजदेखि काम सुरु गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले काम सुरु गरेको हो ।

आयोगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी छन् । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले असोज ५ गते आयोग गठन गरेको थियो । जाँचबुझ आयोगका पदाधिकारीहरुले बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष सपथ लिएसँगै आजदेखि काम थालेका हुन् ।

अब आयोगले ३ महिनाभित्र आन्दोलनका क्रममा भएका गतिविधिको जाँचबुझ गरी प्रतिवेदन तयार पार्ने छ । घटनामा दोषी देखिएकाहरुलाई आयोगले कारबाहीको सिफारिससमेत गर्ने छ । जेन-जीले गरेको आन्दोलनका क्रममा भदौ २३ गते तत्कालीन सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि २४ गते भएको आगजनीमा समेत गरी मृत्यु हुनेको संख्या ७४ पुगिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.