अछाम । २०६३ सालयता छाउगोठमा बसेकै कारण सुदूरपश्चिमका २१ जना महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ ।
यो कुप्रथा अन्त्य गर्न सरकारले चालेका कदमले ठोस परिणाम दिन नसक्दा बर्षेनि किशोरी र महिलाहरूले ज्यान गुमाइराख्नुपरेको हो । कानुनतः दण्डनीय भए पनि अन्धविश्वास र सामाजिक दबाबका कारण छाउगोठमा बस्ने परम्परा कायमै छ ।
स्थानीय तह र प्रहरी प्रशासनको कमजोर निगरानी, जनप्रतिनिधिहरूको उदाशीनता तथा कानुनको प्रभावकारी कार्यान्वयन नहुनाले समस्या जटिल बन्दैगएको छ ।
बिहीबार राति अछामको पञ्चदेवल विनायक नगरपालिका-८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा छाउ बार्न त्रिपालमा बसेकी एक महिला र एक बालिकाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भयो ।
त्यसअघि गत असार अन्तिम साता कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ की कमला आउजीको छाउगोठमा सुतेका बेला सर्पले टोकेर मृत्यु भएको थियो । महिनावारीका बेला घरभित्र बसे देउता रिसाउने, अनिष्ट हुने अन्धविश्वासका कारण महिलाहरू छाउ बार्न घरदेखि पर बनाइएको पर्याप्त हावा नहुने, उज्यालो समेत नछिर्ने सााघुरा छाउगोठमा बस्न बाध्य छन् ।
गृह मन्त्रालयको आदेशमा छाउगोठ भत्काउने अभियान सुरू गरिए पनि प्रहरीसँग सुदूरपश्चिममा अझै कहाँ कति छाउगोठ छन् हालसम्म कति भत्काइए र भत्काइएका फेरि कति बने भन्ने तथ्यांक छैन ।
२०६३ सालयता बिहीबारको घटनासमेत जोड्दा छाउगोठमा अछाममा १५, डोटीमा २, बाजुरामा ३ र कञ्चनपुरमा १ गरी २१ जना महिलाको मृत्यु भएको देखिन्छ ।
सुदूरपश्चिमका केही स्थानमा किशोरी तथा महिलाले महिनावारी भएका बेला ४ देखि ६ दिनसम्म अलग्गै गोठमा बस्ने चलन छ । यो कुप्रथा अछाममा बढी छ । हावा नछिर्ने, चुहिने जीर्ण अवस्थाका गोठमा बस्दा निस्सासिने, बिरामी हुनेदेखि जबरजस्ती करणी र मृत्युसम्मका घटना दोहोरिइहेका छन् ।
सरकारले छाउगोठ भत्काउन अभियान चलाएपछि अचेल महिलाहरू त्रिपाल र ओडारमा बस्न थालेका छन् । बिहीबार रातिको घटनामा परेकाहरू पनि छाउगोठ भत्काइएपछि त्रिपालमा बसेका थिए ।
मुलुकी अपराध संहिता २०७४ ले छाउपडीलाई भेदभाव तथा अपमानजन्य व्यवहार मानेको छ । यसको उपदफा ४ अनुसार महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा भेदभाव गर्नेलाई तीन महिना कैद वा तीन हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
तर अझै सुदूरपश्चिमका महिलाले छाउपडीकै नाममा ज्यान गुमाइरहँदा पनि यसको अन्त्य गर्न सरकारले ठोस रणनीति ल्याउन सकेको छैन ।