हुम्ला । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । झन्डै साढे ६ करोड रुपैयाँ लागतमा नेपाली सेनाले ४० दिन लगाएर बेलिब्रिज जडान गरेसँगै हुम्लीको राष्ट्रिय सडक सञ्जालसँग जोडिने सपना पूरा भएको हो । झन्डै तीन दशकको प्रयासपछि अब ५०५ किलोमिटर लामो कर्णाली करिडोर सिधा सञ्चालनमा आउनेछ ।
खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुमा नेपाली सेनाले बनाएको बेलिब्रिज सिमकोटलाई कर्णाली करिडोरमार्फत मुलुकको सडक सञ्जालसँग औपचारिक रूपमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार हो । झन्डै ६ करोड ५० लाख रुपैयाँ लागतमा नेपाली सेनाले ४० दिनभित्र यो बेलिब्रिज तयार पारेको हो । पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर-दक्षिण यातायातको ऐतिहासिक ढोका खोलेको छ । योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनका लागि २७ वर्षको प्रतीक्षा पूरा भएको छ ।
हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमकोट सडक आयोजना सुरु भएको थियो । योजनाले उपलब्ध गराएको करिडोरको हुम्ला खण्डमा १८५ किलोमिटर सडक पर्छ । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट सुरु गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो ।
यता, सर्केगार्डदेखि खार्पु खण्ड ५० किलोमिटर सडकमध्ये दुल्ली कुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडक २०७८ सालमा निर्माण सुरु गरेर २०८१ असारमा सेनाले सम्पन्न गरेको थियो । कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको हिल्सासम्मको कुल २६८.६५ किलोमिटर सडकको कुल लागत ६ अर्ब ६६ करोड १९ लाख रहेको छ । पुल सञ्चालनमा आएपछि भारतको रुपैडिया नाकादेखि चीनको हिल्सा सीमासम्म एउटै गाडीमा सिधा यात्रा गर्न सकिनेछ ।
यसले स्थानीय यातायात, व्यापार, खाद्यान्न आपूर्ति र पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ ।
२७ वर्षअघि सुरु गरिएको हिल्सा-सिमकोट सडक अभियान बल्ल यो सञ्चालनको अवस्थामा आइपुगेको हो । ५०५ किलोमिटर लामो कर्णाली करिडोर अब सिधा सञ्चालनमा आउनेछ । जसले नेपालगञ्जदेखि कालीकोटको खुलालु, बाजुरा, खार्पु हुँदै सिमकोट र हिल्सासम्म आवतजावत हुनेछ ।