तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने ५ जना पक्राउ

विद्युत प्रवाह गरि माछा मार्नु वातावरण तथा जीवजन्तुका लागि घातक
असार ४, २०८२ |नवराज श्रेष्ठ
तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने ५ जना पक्राउ

रामेछाप। मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मङ्गलवार राति तामाकोशी नदीमा गैर कानुनी रूपमा करेन्ट प्रयोग गरेर माछा मारिरहेको सूचना प्राप्त भएपछि प्रहरीको टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ का ३९ वर्षीय ललित बहादुर माझी, २० वर्षीय प्रेम माझी, ३६ वर्षीय राजन माझी, २७ वर्षीय भरत बहादुर माझी र ३६ वर्षीय आशिष माझी रहेका छन्। करेन्ट लगाएर माछा मार्न प्रयोग गरिएको ब्याट्री, तार, जाल र माछा सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। विद्युत प्रवाह जस्ता जोखिमपूर्ण तरिकाबाट माछा मार्नु वातावरण तथा जीवजन्तुका लागि घातक हुने भएकाले यसलाई कानुनले प्रतिबन्ध मानिन्छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।