काठमाडौं । वैदेशिक लगानीका उद्योग दर्ता बढे पनि रकम भने बढ्न सकेको छैन । गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ४० उद्योगका लागि जम्मा ६४ अर्ब लगानी भित्रिएको छ ।
उद्योग विभागकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ सय २ वटा उद्योगमा ६१ अर्ब बराबरको लगानी आएको थियो । यसरी अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष लगानी स्वीकृति संख्या ४ सय ३८ ले बढी हो । तर लगानी भने जम्मा ३ अर्ब मात्रै बढी आएको छ ।
साना उद्योगको दर्ता बढेकाले लगानी बढ्न नसकेको उद्योग विभागले जनाएको छ । लगानी बढ्न नसक्दा त्यसले दिने रोजगारी पनि प्रभावित हुने देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा स्वीकृति लिएका बैदेशिक लगानीका उद्योगले १९ हजार ५ सय ६५ जनालाई रोजगारी दिने भए पनि गत आर्थिक वर्षमा आएको लगानीले १९ हजार ५ सय ३६ लाई मात्रै रोजगारी दिनेछ ।
उद्योग विभागमा दर्ता हुने उद्योगको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ सय ३४ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्ष २०८१/८२ मा ७ सय उद्योग दर्ता भएका छन् । यसरी गत वर्ष दर्ता भएका ७ सयमध्ये ५ सय ७८ वटा साना उद्योग हुन् । ठूला उद्योग भने जम्मा ६८ मात्रै दर्ता भएका छन् ।