काठमाडौं । नेपालको न्यायपालिकाको इतिहासभन्दा पुरानो छ वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अनुभव । उमेरले ९९ वर्ष लाग्नुभएका भण्डारी विगत ७ दशकदेखि अविराम वकालत गर्दै आउनुभएको छ । उहाँ अझै पनि बहसका लागि अदालत धाउन धकाउनुहुन्न । ७ दशकमा न्यायालयको स्वरूप फेरियो, कानुन फेरिए, संविधान बदलिरहे तर उहाँको बहसको शैली र सक्रियता उस्तै छ । राजा महेन्द्रदेखि बहालवाला प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध बहस गरेका कानुन व्यवसायी हुन्, कृष्णप्रसाद भण्डारी ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वकालत त्यो बेला सुरु गर्नुभएको थियो जतिबेला नेपालमा सर्वोच्च अदालत नै स्थापना भएको थिएन । २०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको विधिवत् स्थापना भएको हो । त्यसभन्दा ६ वर्षअघिदेखि नै गाउँघरका स्थानीय मुद्दाहरूमा वकालत थाल्नुभएको थियो । त्यसकारण पनि भण्डारीलाई वरिष्ठतम् वरिष्ठ अधिवक्ता भन्ने गरिन्छ । यो विशेष सम्मान पाउने उहाँ एक्लो कानुन व्यवसायी हुनुहुन्छ ।
२०१४ सालबाट त उहाँले लाइसेन्स लिएर व्यावसायिक रूपमै वकालत गर्न थाल्नुभयो ।
कानुन व्यवसायमा उहाँको प्रवेश हुनु र सर्वोच्च अदालत ऐन आउनु लगभग एकै समयमा भए । वि.सं १९८४ साल जेठ २८ गते बुबा पशुपति भण्डारी र आमा चन्द्रकला भण्डारीको कान्छा सन्तानका रूपमा भण्डारीको रौतहटमा उहाँको जन्म भएको थियो । अहिले ९९ वर्षको उमेरमा पनि उहाँ अदालत पुगिरहनुहुन्छ, मुद्दाहरूमा बहस गरिरहनुहुन्छ ।
भण्डारी राणा शासनविरुद्ध २००७ सालको क्रान्तिमा समेत प्रत्यक्ष सहभागी हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेपछि उहाँले राजा महेन्द्रविरुद्ध बहस गर्नुभएको थियो । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध पनि उहाँले बहस गर्नुभएको थियो । चर्चित ५२ संवैधानिक पदमा भएको नियुक्तिविरुद्धको रिटमा पनि उहाँले बहस गर्नुभयो । झन्डै ७ दशकदेखि अविराम वकालत गर्दै आउनुभएका भण्डारीलाई १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनले ‘कानुन वाङ्मय शताब्दी पुरुष’बाट पनि सम्मान गरिसकेको छ ।
वरिष्ठ अधिवक्ता भण्डारीकी छोरी सविता पनि वरिष्ठ अधिवक्ता हुनुहुन्छ । बुबाले यो उमेरमा पनि युवावयमा जसरी नै बहस गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
भण्डारीले सुरु गरेको ‘नेपाल ल फर्म’ अहिले पनि सञ्चालनमै छ जुन देशकै पुरानो कानुनी परामर्श केन्द्र हो । सर्वोच्च अदालत बार एसोशिएशनको ‘स्वर्ण महोत्सव स्मारिका’मा कानुन क्षेत्रका दिग्गजहरूले उक्त ल फर्मले कानुन क्षेत्रमा नयाँ भाष्य स्थापना गरेको र कुनै विश्वविद्यालयले गर्न नसक्ने योगदान गरेको उल्लेख गरेका छन् । भण्डारीकै ल फर्मबाट उत्पादित कानुन व्यवसायीले न्यायालय, नेपाल बार एसोशिएशन र महान्यायाधिवक्ता कार्यालयसम्मको नेतृत्व गरिसकेका छन् ।
अध्ययनलाई नै कानुन व्यवसायको आधारस्तम्भ मान्ने भण्डारी न्याय महँगो र खर्चिलो भएकोमा भने चिन्तित हुनुहुन्छ । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेकोमा पनि उहाँको दुःखेसो छ ।
कानुन व्यवसायीले वकालत गर्दा एउटा पक्षमा बहस पैरवी गर्नु स्वाभाविक हो । तर भण्डारी केवल बहस गर्नुहुन्न, न्याय सम्पादनका क्रममा इजलासमै न्यायाधीशहरूलाई समाधानका उपाय पनि सुझाउनुहुन्छ । यिनै गुणले उहाँलाई कानुन र न्याय क्षेत्रको जिउँदो धरोहर बनाएको छ – वरिष्ठतम् वरिष्ठ अधिवक्ता बनाएको छ।