सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ राजविराज नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएपछि तीन दिनदेखि भईरहेको आन्दोलन साम्य भएको छ ।
आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवा लिएर चर्किएको विवाद उग्र भएपछि मंगलबार दिनभरि राजविराज नगरपालिका तनाबग्रस्त बनेको थियोे भने निलम्बित नगर प्रमुख भिमराज यादवका समर्थकहरुले नगरपालिका कार्यालयमा प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।
स्थिति साम्य पार्न अबेर साँझसम्म प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भईरहेको सर्वदलीय बैठकको पहलमा मन्त्रालयले साँझ ५ बजे नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरि किशोर प्रसाद राजवंशीलाई पठाएपछि स्थिति साम्य भएको थियो ।
राजवंशीलाई मन्त्रालयले सर्लाहीको हरिपूर्वा नगरपालिकाबाट सरुवा गरि राजविराज पठाएको हो । यसअघि मन्त्रालयकै सिफारिशमा सरुवा भएका अघिल्लो प्रमुख प्रशासकीय अधिकृत श्रवण साहको ठाउँमा नगरपालिकाकै शिक्षा शाखा संयोजक भोगेन्द्र यादवलाई आर्थिक कारोवारसहित निमित्तको जिम्मेवारी दिएपछि कार्यबाहक नगरप्रमुख इसरत परबिनले मंगलबारै उहाँलाई पदस्थापना गरिएको थियो । तर, मन्त्रालयले अर्को पत्र मार्फत शिक्षा संयोजक यादवलाई दिएको जिम्मेवारीसमेत रद्द गरिदिएको छ ।
यस्तो छ तीन बुँदै सहमति
मंगलबार जिल्ला प्रशासन कार्यालयमा दिनभर चलेको सर्वदलीय बैठकले राति ९ बजे तीन बुँदे सहमति गर्दै राजविराज नगरपालिकाको विवाद समाधान गरिएको छ।
सहमति अनुसार नगरपालिकामा हालसम्म भएका काम कारवाहीका सन्दर्भमा उठेका अनियमितता, उजुरी र रकम हिनामिनाका विषयमा विज्ञसहितको छानबिन समिति गठन गरिने निर्णय भएको छ भने हाजिर भएको स्थायी दरबन्दीका इन्जिनियरलाई नियुक्ति भएको मितिदेखि नै तलब उपलब्ध गराउने सहमति भएको हो ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएका हरि किशोर प्रसाद चन्द्रवंशीलाई तत्काल हाजिर गराउने सहमति भएको छ ।
यो सहमति भएलगत्तै राति साँढे ९ बजेतिर निलम्बित नगरप्रमुख यादवद्वारा नगरपालिकामा लगाइएको ताल्चा पनि खोलिएको छ ।
क्षतिको जिम्मेवारी कसले लिने ?
यता निलम्बित नगरप्रमुख भीमराज यादवले लगाएको ताला कार्यवाहाक नगरप्रमुख परबिन नेतृत्वको जनप्रतिनिधिले जबरजस्ती तोडेपछि आन्दोलनकारीले नगरपालिका भवनमा नाराबाजी गर्दै तोडफोड गरेका थिए । तोडफोडबाट कार्यालय भवन र बारुण यन्त्र कक्षका कर्मचारी बस्ने भवनका सिसा फुटेको छ भने काबा नगरप्रमुख परबिन चढ्ने स्करपियो पनि क्षतिग्रस्त भएको छ ।
यस्तै झडपको क्रममा नगरपालिकाका लेखापाल शत्रुद्यन लाल दास र स्वास्थ्यकर्मी संतोष दासमाथि कुटपिट भएको छ । तर, यी घटनाहरुको जिम्मेवारी कसले लिने भने विषयमा छलफलसमेत सर्वदलीय बैठकमा हुन सकेन ।
उता नगरपालिका कर्मचारी एशोसिएशनले विज्ञप्ति मार्फत कर्मचारी र कार्यालयमा तोडफोड गर्नेहरुमाथि कानुन बमोजिम कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पहिलो चरणमा विवाद समाधानको काम भएको र थप विषयको अनुसन्धान पनि भईरहेको जानकारी दिनुभयो ।
गत स्थानीय तहको निर्वाचनमा जसपाबाट नगरप्रमुखमा यादव र उपप्रमुखमा परबिन निर्वाचित हुनुभएको थियो । तर, ठेकेदार पृष्ठभुमिका यादव पुराना एक निर्माण कामको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट संलग्नता पुष्टि भएपछि परबिन काबा मेयर हुनुभएको हो । यधपी, आपसी सन्तुलन नमिल्दा पटकपटक राजविराज नगरपालिकामा द्वन्द्व हुँदै आएको छ ।