यार्चाको सिजन : अन्त विद्यालय बन्द हुँदा पनि पढाइरहेको जनप्रिय आधारभूत विद्यालय

जेष्ठ २७, २०८२ |सरोज थापा
यार्चाको सिजन : अन्त विद्यालय बन्द हुँदा पनि पढाइरहेको जनप्रिय आधारभूत विद्यालय

डोल्पा । कर्णालीका उच्च हिमाली भेगमा अहिले मानिसहरू किरा खोज्न निस्किएका छन् । डोल्पामा पनि उस्तै छ । 

खासमा स्थानीयहरू यार्चागुम्बा टिप्नुलाई किरा टिप्ने भन्छन् । यार्चा टिप्न गाउँ गाउँबाट स्थानीयहरू पाटन पुगेका छन् । विद्यार्थी र शिक्षक समेत यार्चा खोज्न पाटनतिर लागेपछि डोल्पाका अधिकांश विद्यालय बन्द छन् । 

हरेक वर्ष जेठ महिनाभर डोल्पाका प्रायः सामुदायिक विद्यालय बन्द हुन्छन् । अभिभावकसँगै विद्यार्थीहरू पनि बहुमूल्य जडिबुटी यार्चागुम्बा संकलन गर्न जाने भएकाले औपचारिकरूपमै विद्यालय बन्द गरिन्छन् । तर त्रिपुरासुन्दरी-९ ‘चु’ गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा भने निरन्तर पढाइ भइरहेको छ । शिक्षण सिकाइमा सुधार ल्याउन विद्यालय नियमित सञ्चालन गरिएको हो ।

पछिल्लो चार वर्षदेखि जनप्रियका अविभावक र शिक्षकहरूले यार्चाको सिजनमा पनि नियमित पठनपाठन गराउँदै आएका छन् । महिना दिनसम्म विद्यार्थीहरू यार्चा खोज्न जाँदा पढेको बिर्सने र यसले शिक्षण सिकाइमा दीर्घकालीन असर पर्ने भएपछि अन्त सबै विद्यालय बन्द हुँदा पनि यहाँका अभिभावकहरू विद्यालय सञ्चालन गर्न अग्रसर भएका छन् ।

जेठमा विद्यालय बन्द नगर्ने अभिभावक र शिक्षकको निर्णयले विद्यार्थीको शिक्षण सिकाइमा पनि सुधार भएको छ ।

यार्चा सिजनमा पनि विद्यालय सञ्चालन हुन थालेको ४ वर्षे बितेको र विद्यालय नियमितरूपमा सञ्चालन हुँदा विद्यार्थीको शिक्षण सिकाइमा सुधार भएको शिक्षकहरूको दाबी छ ।

२०४७ सालमा स्थापना भएको जनप्रियमा हाल १८२ जना विद्यार्थी अध्ययनरत छन् । पछिल्लो ४ वर्षदेखि यहाँका कुनै पनि शिक्षक र विद्यार्थीहरू यार्चागुम्बा खोज्न पाटन गएका छैनन् । जनप्रियमा ९ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।