रूपन्देही । रूपन्देहीको शंकरनगर सामुदायिक वनले हरियाली प्रवर्द्धन र वन विकासका लागि नर्सरी व्यवस्थापन र बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सामुदायिक वन उपभोक्ता समूह वन क्षेत्र विस्तारका लागि चाहिने रुखका बिरुवा उत्पादनमा पनि उदाहरणीय बनेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको वन तथा कृषि सहज कार्यक्रमले सघाएपछि शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले खाली क्षेत्रमा रोप्ने बिरुवादेखि बगैंचा सजावट र व्यावसायिक फलफूलका बिरुवा उत्पादन गर्ने काममा समूहले अग्रसरता देखाउन थालेको हो ।
समूहले एक हजारभन्दा धेरै प्रजातिका बिरुवा उत्पादन गर्दै आएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको ५८४ हेक्टर क्षेत्रफलमा फैलिएको शंकरनगर सामुदायिक वनले नर्सरी व्यवस्थापनमा नमुना काम पनि गर्दै आएको उपभोक्ता समूहकी उपाध्यक्ष कमला ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले टिक लगायतका वन विस्तारका लागि आवश्यकदेखि आँप, लिची र अन्य फलफूलका एकहजारभन्दा बढी प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छौं ।”
शंकरनगर सामुदायिक वनले आफूले उत्पादन गरिएका बिरुवाहरू सामाजिक संघसंस्थालाई निःशुल्क वितरण समेत गर्छ । फलफूल, सजावटका र विदेशी प्लान्टहरू उपभोक्ता समूह र व्यावसायिक प्रतिष्ठानहरूलाई सर्वसुलभ रूपमा बिक्री हुने गरेको छ । अहिलेसम्म समूहले लाखौं बिरुवा उत्पादन गरिसकेको समूहकी सचिव कालिका अधिकारीले जानकारी दिनुभयो ।
नर्सरी व्यवस्थापनमा उदाहरणीय काम गरेपछि फेकोफन केन्द्रले समेत शंकरनगर सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । समूहले आफूले बिरुवा उत्पादन गरेर अरू वन क्षेत्र विस्तार र उपभोक्तालाई व्यावसायिक बनाउन भूमिका खेलेकोले रोजगारी प्रवर्द्धन पनि भएको फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको नेतृत्वमा नेपालमा वन तथा कृषि सहज कार्यक्रम लागू भएको छ । दोस्रो चरणको वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत नेपालका सामुदायिक वन उपभोक्ताहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउने अभियान जारी रहेको र शंकरनगर सामुदायिक वनमा पनि सहयोग गरिएको कार्यक्रम संयोजक जनक आचार्यले जानकारी दिनुभयो ।
नेपालमा २०४६ सालमा प्रजातन्त्र पुनःबहाली हुनुअघि नै वन संरक्षण थालेको रूपन्देहीको शंकर नगर सामुदायिक वन उपभोक्ता समूहले गरिब र विपन्न समुदायलाई आर्थिक र रोजगारीमा सहयोग गर्दै आएको छ । यसैगरी शंकरनगर सामुदायिक वनले विद्याल, सडक, खानेपानी लगायतका पूर्वाधार विकासमा पनि लगानी गर्दै आएको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो ।
शंकरनगर सामुदायिक वनमा ४ हजारभन्दा धेरै उपभोक्ता छन् ।