
काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ जात्रा यस वर्ष वैशाख ८ गते सुरु भइसकेको छ । पुल्चोकबाट तान्न थालिएको रथ आज लगनखेल पुर्याइँदै छ । रथ जात्रा ललितपुर महानगरमा उल्लासमय रूपमा मनाइन्छ । तर के तपाईंलाई थाहा छ, मच्छिन्द्रनाथको रथ कसरी बनाइन्छ ?
सबैभन्दा पहिले कुरा गरौं, रथको पांग्राको । पांग्रा सान्दान जातको काठ प्रयोग गरेर बनाइन्छ, जसका लागि बाराको निजगढ जंगलबाट काठ ल्याइन्छ । काठ ल्याउन त्यति सजिलो छैन । पुजारीसहितको टोली जंगलमा पुगेर काठ छनोट गरिसकेपछि विधिपूर्वक बली पूजा गरिन्छ । काठ पुल्चोक ल्याउन एक महिना लाग्छ । यस वर्ष माघ ९ गते ल्याएर बनाउन थालिएको थियो ।
चार वटा पांग्रा तयार पार्न पूजाविधिसमेत गरी ६० लाख रुपैयाँ खर्च गरिएको छ । मच्छिन्द्रनाथको रथ निर्माणदेखि जात्रासम्ममा बाराही, यँवाल, बोसी, घकु, चित्रकार, शाक्य, बज्राचार्य गरी ३२ थरीका समुदाय संलग्न हुने गर्छन् । काठसम्बन्धी काममा बाराही समुदाय संलग्न हुन्छन् । एउटा पांग्रा २४ फिट गोलो हुन्छ ।
३२ हात अग्लो रथ बनाउन सान्दान, फलाट, लाँकुरी, सउर, मयल र आरु गरी ६ प्रजातिका काठ प्रयोग गरिन्छन् । रथ बनाउन विभिन्न सीप र दक्षता भएका स्थानीय समुदाय सक्रिय हुन्छन् । यो वर्ष परम्परागत विधि र प्रक्रिया पूरा गर्दा रथ बनाउन ५३ दिन लागेको थियो । १५ टनभन्दा बढी वजनको अग्लो रथ निर्माणमा फलामको कुनै किसिमको किलाको प्रयोग भने गरिँदैन । रथमा प्रयोग हुने काठहरू नेपालकै विभिन्न जंगलबाट ल्याइन्छ भने बेत भने नेपालमा नपाइने हुनाले भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
काठको काममा बाराही समुदाय संलग्न भएजस्तै बेतको काम भने यँवाल समुदायले गर्छन् । रथ बनाउन र पूजाविधिसहितको जात्रा सम्पन गर्न १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने गुठी संस्थानले जनाएको छ ।
हिन्दू र बौद्ध धर्मावलम्बीले मान्ने यो जात्रामा भिन्न भिन्न समुदायका आधारमा काम विभाजन गरिन्छ । यस वर्ष वैशाख ५ गते मच्छिन्द्रनाथको रथारोहण गरिएकोमा ८ गतेबाट जात्रा प्रारम्भ भएको हो । लामो समयसम्म चल्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको जात्रामा अहिलेसम्म परम्परा र मौलिकतामा कुनै ह्रास आएको छैन । बरु झन् नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।