सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’ को काम तीव्र

जेष्ठ २४, २०८२ |माधव अर्याल
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’ को काम तीव्र

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’ को कामले तीव्रता पाएको छ । मुख्य टनेलको कुल १ हजार ८९ मिटरमध्ये इन्भर्टको काम अब ९९ मिटर मात्र बाँकी छ भने लाइनिङको काम ४२९ मिटर रहेको छ । 

बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । 

सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने र सवारी साधन भित्रबाट पठाएर बाहिर अहिलेको सडकमा काम गर्ने योजना आयोजनाको छ । पहिले मुख्य टनेलबाट सवारी साधन गुडाउने अवस्थामा पुर्‍याइने छ । बाइपास-एक १५१, बाइपास-दुई १६१ र बाइपास-तीन १३० मिटर रहेको छ ।

बाइपास एकको इन्भर्टको काम १४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि ११८ मिटर भइसकेको छ । त्यस्तै बाइपास तीनको पनि इन्भर्टको काम ३६ मिटर भइसकेको आयोजना कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । बाइपास दुईको इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन ।

बाइपास-एकको इन्भर्टको काम १४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि ११८ मिटर भइसकेको छ । त्यस्तै बाइपास-तीनको पनि इन्भर्टको काम ३६ मिटर भइसकेको आयोजना कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । बाइपास दुईको इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । 

निर्माणाधीन सुरुङमार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५३.४१ प्रतिशत पुगेको छ । त्यस्तै वित्तीय प्रगति ४७.८ प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो  ।

लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुनेछ । उत्तरतर्फ मुख्य सुरुङको इन्भर्टको काम ४८० मिटर र दक्षिणतर्फ ५१० मिटर काम सम्पन्न भएको छ । मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ३२० मिटर र दक्षिणतर्फ ३४० मिटर सकिएको छ । स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५, उत्तरतर्फ ११०० मध्ये ४९५, एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । 

निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ लगायतका पहाडी तथा हिमाली जिल्लाका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन् । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।