कुलिङ पिरियड तोडमोड गरिएकाेबारे छानबिन समिति गठन गर्न प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङ पिरियड तोडमोड गरिएकाेबारे छानबिन समिति गठन गर्न प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

काठमाडौं । 'संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो । छलफलमा उपसभामुख इन्दिरा रानासमेत सहभागी हुनुहुन्थ्यो ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्तावसमेत माग गर्नुभयो ।

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपर्युक्त हुने सुझाव दिएका छन् । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताए । तीन वटै प्रमुख दलका नेताहरूले आ-आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.