काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको हो ।
उहाँले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरूले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरूरी रहेको बताउनु भयो ।
समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको उहाँकाे आराेप छ । अहिले विचौलियाहरूले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको उहाँकाे भनाइ छ ।
अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, विकृत नोकशाही, दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरूद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।