काठमाडौं । बाटोमा हिँड्ने बटुवालाई होस् वा स्थानीयलाई, केही बेर सुस्ताउन र बसेर दु:ख-सुखका कुरा गर्न बनाइएका फल्चा अर्थात् पाटीहरू परम्परा र संस्कृतिसँग जोडिएका छन् । शहरीकरणसँगै यी फल्चाहरू बिस्तारै हराउँदै जान थालेका छन् ।
तर यस्ता मौलिक सम्पदा र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले बस बिसौनीदेखि शहरका भित्री क्षेत्रमा परम्परागत फल्चाको निर्माण र पुनःनिर्माण तीव्र बनाएको छ ।
काठमाडौं महानगरले अहिले नगरका बस बिसौनीहरूमा फल्चा निमार्णलाई तीव्रता दिएको छ । घाम लाग्दा होस् वा पानी पर्दा, यात्रु र सर्वसाधारणका लागि आश्रय र विश्राम थलो होस् भनेर निर्माण गरिएको फल्चाले धेरै सहयोग पुगेको सर्वसाधारणको भनाइ छ ।
युवा हुन् या ज्येष्ठ नागरिक, फल्चामा जम्मा भएर भलाकुसारी गरी दिन बिताउने गर्छन् । काठमाडौं उपत्यकाका पुराना बस्तीमा फल्चामा बसिबियाँलोसँगै दाफा भजनकीर्तन समेत गर्ने गरिन्छ । यस्तै सामूहिक निर्णय मात्र होइन कतिपय ठाउँमा धार्मिक जात्रा पर्वका साथै ज्योतिषहरूले साइत समेत हेर्ने गर्छन् ।
त्यसैले फल्चाको धार्मिक महत्त्व समेत रहेको स्थानीय बताउँछन् ।
महानगरले मौलिक सम्पदा र संस्कृति झल्किने मात्र नभई नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले फल्चा निर्माणलाई प्राथमिकता दिइएको जनाएको छ । यस्ता फल्चा परम्परागत शैलीमा झिँगटीको छानो, बलियो थाम र बुट्टेदार अग्राखको काठबाट कलात्मक रूपमा बनाइन्छ । लिच्छविकालमा समेत ल्हासामा जाने र फर्किनेहरूले समेत फल्चामै वास बस्ने र खाजा-खाना समेत खाने गरेको इतिहासमा उल्लेख छ । महानगरले फल्चा निर्माणमा दश करोडभन्दा बढी लगानी गरेको छ ।
फल्चा सम्पदा र सभ्यता मात्र नभई मानवीय संवेदनासँग पनि जोडिएको हुन्छ ।