भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा

भक्तपुर । भक्तपुरकाे चासुखेलमा चण्डेश्वरीको जात्रा मनाइएकाे छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा मनाउने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमा र त्यसको अघिल्लो दिन गरी दुई दिन जात्रा मनाइन्छ । चासुखेलस्थित चण्डेश्वरी देवीको तीन तले मन्दिर वरपर जात्राकाे रथ परिक्रमा गरी दरबार क्षेत्र हुँदै दत्तात्रयसम्म पुर्याउने गरिन्छ ।

जात्राको क्रममा साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गराउनुअघि रित्तो खटको जात्रा गर्ने चलन छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावालस्कर सहितको जात्रा गरिन्छ ।

सरकारी पूजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छें टोल पुग्ने प्रचलन छ । त्यसपछि चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुँदै तचपाल टोल नपुग्दै आउने चौबाटोमा रोकिने परम्परा छ । यस क्रममा खटलाई नबोकी भुइँमा घिसार्दै जात्रा गर्ने परम्परा छ । जुन नेपालको कुनै पनि ठाउँमा भएको नदेखिएको बताइन्छ ।

त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुँदै क्वाछें ओरालोसम्म जात्रा गरिन्छ । पुनः खट फर्काई चण्डेश्वरी मन्दिर परिसरको डबली पुर्‍याएपछि खटबाट मूर्ति निकाली पूजा हुन्छ । 

मूर्तिलाई पेटीमा विराजमान गराई भक्तजनबाट पूजा गरिन्छ । यही साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पुर्‍याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.