लुम्बिनीको बजेटमा माओवादीको विरोध

असार १७, २०८२ |अमर क्षितिज भण्डारी
लुम्बिनीको बजेटमा माओवादीको विरोध

दाङ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले बहिष्कार गरेपछि लुम्बिनी प्रदेश सभामा एकाएक नयाँ विपक्षी दल जन्मिएको छ । बटेजमा मनोमानी भएको भन्दै माओवादी केन्द्रको प्रदेश सभा चल्न नदिने अडानका बीच सत्तारूढ कांग्रेस एमालले लोसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाई विपक्षी बेन्चमा राखेर प्रदेश सभा चलाएका हुन् ।

बजेट सार्वजनिक भएको १७ दिनपछि छलफलका लागि भन्दै बोलाइएको बैठक मंगलबार माओवादी केन्द्रले बजेट सच्याउन माग गर्दै अवरुद्ध गरेको थियो । बैठक सुरु भए लगत्तै माओवादीका प्रमुख सचेतक इन्द्रजित चौधरीले बजेटमा भएका कमजोरी नसच्याएसम्म सदन चल्न नदिने बताएपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । 

बैठक फेरि बसे पनि विपक्षीको बेन्च खाली भएपछि स्थगित भएको थियो । त्यसपछि एमाले र कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाएर लोसपालाई विपक्षी बेन्चमा राखेपछि सभामुखले प्रदेश सभा सुरु गर्नुभएको हो । त्यसअघि म‌ंगलबार बसेको पहिलो बैठकमा मुख्य विपक्षी माओवादी केन्द्रले बजेटका त्रुटि नसच्चिएसम्म प्रदेश सभा चल्न नदिने बताएको थियो ।

बजेटमाथिको छलफलको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँगै विपक्षी दलहरू राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी सहभागी भएनन् । बजेटमाथिको छलफलका लागि असार ७ गते बोलाइएको बैठक विरोधको सामना गर्नुपर्ने भएपछि स्थगित भएको थियो । मुख्यमन्त्री, सम्बन्धित मन्त्रीहरू र कांग्रेस, एमाले, माओवादी लगायतका संसदीय दलका नेताहरूबीच पटक पटक भएको छलफलपछि छुटेका योजना बजेटबाटै सम्बोधन गर्ने सहमतिपछि मंगलबार प्रदेश सभा बोलाइएको थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।