सत्तापक्षकै असन्तुष्टिले बागमतीमा बजेटमाथिको छलफल सुरु हुनै सकेन

असार १७, २०८२ |बालकृष्ण अधिकारी
सत्तापक्षकै असन्तुष्टिले बागमतीमा बजेटमाथिको छलफल सुरु हुनै सकेन

मकवानपुर । बागमती सरकारले असार १ गते मध्यरातमा ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन । सार्वजनिक गर्ने समयमै विवादित बनेको बजेटमाथिको छलफल सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिका कारण अघि बढ्न नसकेको हो । जसका कारण बागमती सरकार बजेट छलफललाई पछाडि धकेल्ने रणनीतिमा देखिन्छ ।

बजेटमाथि छलफल गर्न असार १२ गते बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित भयो । त्यसपछि असार १६ गते बैठक बस्ने भनिए पनि पुनः असार १९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सत्तारुढ दल एमालेका सांसद नै बजेटसँग सन्तुष्ट छैनन् । सत्तापक्षकै सांसदहरूमा बजेटप्रति तीव्र असन्तुष्टि भएपछि सरकारले बजेटमाथि छलफल प्रक्रिया पछाडि धकेलिरहेको छ ।

मध्यअसारमा बैठक बोलाएर सूचना टाँसकै आधारमा स्थगित गरिएको भन्दै विपक्षी दल पनि आक्रोशित छन् । उनीहरूले सहमति र संवादबाट निकास खोज्न सरकारलाई सुझाएका छन् ।

प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित भएको, सांसदहरूले सिफारिस गरेका योजना हटाइएको, पहुँचवालालाई प्राथमिकता दिइएको लगायतका आरोप सांसदहरूको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।