कञ्चनपुर । गुल्मीबाट कञ्चनपुरको बेलौरी बसाइँ सर्दा बलबहादुर सुनारको संघर्ष सजिलो थिएन तर उहाँमा परिवारको खुशी प्राप्तिको दृढ संकल्प भने थियो । जमिनदारकहाँ हलिया बस्नेदेखि भारतमा मजदुरी गर्नेसम्मका काम उहाँले गर्नुभयो । झुपडीमा छोराहरुलाई हुर्काए पनि उहाँले समृद्धिको सपना देखिरहनुभयो । वैदेशिक रोजगारीमा दुबई पुगेका छोराहरुले पछिल्लो १५ वर्षदेखि पठाइरहेको रेमिट्यान्सले बलबहादुरको परिवारको कायाकल्प भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका-४ मा रहेको घर सामान्य छ, तर यसभित्र, एक संघर्षशील व्यक्ति बलबहादुर सुनारको कथा जोडिएको छ । गुल्मीबाट बसाइँ सरेर कञ्चनपुर आइपुगेका बलबहादुर परिवारको भरणपोषणकै लागि कुनै बेला जमिनदारको हलिया बस्नुभयो । त्यसले उँभो लाग्ने नदेखेर उहाँ मुग्लान पस्नुभयो ।
बलबहादुरले भारतमा मजदुरी गरेर पठाएको पैसाले छोराछोरीहरूको पढाइ र घरको चुलो बल्थ्यो । झुपडीमा हुर्किएका दुईजना छोरालाई विदेश पठाउने सपना देख्नुभयो बलबहादुरले । झन्डै १५ वर्षअघि बलबहादुरका छोराहरु विदेश उडे । दुबई पुगेका छोराहरूले मिहिनेत र इमानदारीपूर्वक काम गरे । यहीँ बिन्दुबाट सुरु भयो बलबहादुरको परिवारको आर्थिक रूपान्तरण ।
छोराहरूले मासिक रूपमा पठाउने रेमिट्यान्सले बलबहादुरले सबैभन्दा पहिले पक्की घर बनाउनभुयो । पछि बिहाबारी गरेर छोराहरु छुटीभिन्न भई आ-आफ्नो काममा लागे । तर, त्यसअघि नै बलबहादुरले छोराहरुले पठाएको रमिट्यान्सलाई लगानीमा परिणत गरिसक्नुभएको थियो । बलबहादुर दम्पतीले बेलौरी बजारमा नास्ता पसल सञ्चालन गर्दै आउनुभएको थियोे । कान्छा छोराले स्वदेश फर्केर बेलौरी बजारमै नास्ता पसल थाल्नुभयो ।
बलबहादुरका जेठो छोरा रमेश भनै अझै दुबईमै काम गरिरहनुभएको छ । रमेशले पठाएको रेमिट्यान्सले उहाँकी श्रीमती ताराले छिमेकीको घर किन्नुभयो, नयााँ घरेडी जोडियो, नानीहरू निजी विद्यालयमा पढ्छन् । ताराले रेमिट्यान्सलाई बचत समूह, बीमा र अन्य वित्तीय क्षेत्रमा लगानी गर्दै परिवारको भविष्य सुरक्षित बनाइरहनुभएको छ ।
रेमिट्यान्सले बलबहादुरको परिवारलाई सुकुम्बासीबाट घरजग्गाको मालिक बनाएको छ । बलबहादुरको परिवारले जस्तै विदेशबाट आएको पैसालाई बचत गरी सही योजनाका साथ लगानी गर्नसके यो समृद्धिको दिगो आधार बन्न सक्छ ।