धनुषामा विष सेवनका कारण ३ बालबालिकाको मृत्यु, आमा र नवजात शिशुको उपचार हुँदै

वैशाख ९, २०८२ |अमरकान्त ठाकुर
धनुषामा विष सेवनका कारण ३ बालबालिकाको मृत्यु, आमा र नवजात शिशुको उपचार हुँदै

धनुषा । शहीदनगर नगरपालिका-६ वासुदेवपट्टीमा विष सेवनका कारण एकै परिवारका तीन जना बालबालिकाको मुत्यु भएको छ । मृतक बालबालिकाकी आमाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

वासुदेवपट्टी बस्ने पविता साहका ६ वर्षका छोरा तथा ४ र साढे २ वर्षकी छोरीको शंकास्पद मृत्यु भएको हो । विष सेवन गरेकी आमा पविता र अस्पताल पुर्‍याउँदा शल्यक्रिया गरेर जन्माइएका नवजात शिशुको जनकपुरधामस्थित रामजानकी अस्पतालको आसीयूमा उपचार भइरहेको छ । माइती पक्षले पविताका सासु–ससुराले निरन्तर घरेलु हिंसा गरेर विष सेवन गर्न वाध्य पारेको आरोप लगाएको छ ।

गहुँमा राख्ने विष खाएपछि गएराति पविता र उहाँका तीन छोराछोरीलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि राति नै रामजानकी अस्पताल रेफर गरिएको थियो । दुई छोराछोरीको मृत्यु प्रदेशिक अस्पतालमै भएको थियो भने एउटी छोरीको मृत्यु रामजानकी अस्पतालमा भएको थियो । अहिले तीनै जनाको शव पोष्टमार्टमाका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। घटना विष सेवनबाटै भएको चिकित्सकले बताएका छन् ।

पवितालाई सासु, सुसरा र श्रीमानले याताना दिने गरेको र प्रसूतिको समय आइसक्दा पनि जचाउँन अस्पताल नलगेको पीडामा पविताले बालक छोराछोरीसहित आफूले पनि विष सेवन गरेको हुनसक्ने प्रहरीको आशंका छ । महोत्तरीको बर्दिवास-९ की पविताको विवाह ७ वर्षअघि धनुषाको शहीदनगर नगरपालिका-६ बासुदेवपट्टीका रोशन साहसँग भएको थियो ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।