विवाहको उमेर हद २० बाट १८ मा घटाउने बहस चलेपछि किशोरकिशोरीले लेखे प्रधानमन्त्रीलाई यस्तो पत्र

वैशाख ८, २०८२ |अमर क्षितिज भण्डारी
विवाहको उमेर हद २० बाट १८ मा घटाउने बहस चलेपछि किशोरकिशोरीले लेखे प्रधानमन्त्रीलाई यस्तो पत्र

काठमाडौं । विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने बहस केन्द्रीयस्तरमा चलेपछि लुम्बिनी प्रदेशका किशोर-किशोरीहरु दवाब सिर्जनामा लागेका छन् । विवाहको उमेर १८ वर्ष बनाउँदा बालबालिकाको भविष्य अन्योलमा पर्ने, उच्च शिक्षामा अवरोध सिर्जना हुनसक्ने, किशोरीमा प्रजनन स्वास्थ्यका समस्या हुने र मातृ तथा शिशु मृत्युदर बढ्ने भन्दै उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेखिरहेका छन् । लुम्बिनी प्रदेशका बालबालिका र किशोरकिशोरीले बिवाहको उमेर २० वर्ष नै कायम राख्न दबाब दिन सरकार प्रमुखलाई पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

'प्रधानमन्त्रीज्यू, बालबिबाह बढ्यो भनेर बिबाह गर्ने उमेरको हद नघटाएर बालबिबाह रोक्नेतर्फ जानुपर्छ,' मधुवन नगरपालिका बर्दियाकी सम्झना बाँठाले प्रधानमन्त्रीलाई लेखेको पत्र पढ्दै भन्नुभयो, 'बिबाहको उमेर घटाउँदा किशोर-किशोरी शारीरिक मानसिक रुपमा परिपक्व हुँदैनन् ।'

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्नेबारे बहस सुरु गरेपछि सम्झनाले जस्तै लुम्बिनी प्रदेशका किशोरकिशोरीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्न शुरु गरेका हुन् । विवाह गर्ने उमेर १८ वर्ष कायम हुँदा घर-परिवार र समाजमा विवाहका लागि दबाब बढ्ने र आफूहरुको भविष्य बर्बाद हुने डरका कारण सरकारको ध्यानाकर्षण गराउन पत्र लेखेको उनीहरुको भनाइ छ ।

विद्यालयमा बिदा मिलाइदिन अनुरोध गर्दै कक्षा शिक्षकलाई पत्र लेखेका किशोरकिशोरीहरुले देशको कार्यकारी प्रमुखलाई प्रत्यक्ष रुपमा भेट्न, कुरा राख्न सहज पहुँच नभएको भन्दै पत्रमार्फत विवाहको उमेर २० वर्ष नै कायम राख्न अनुरोध गरेको जनाएका छन् । हुलाकमार्फत् प्रधानमन्त्रीलाई पत्र पठाएका उनीहरुलाई आफूहरुको गुनासो सुनुवाइ हुन्छ कि हुँदैन भन्नेमा पनि चिन्ता छ ।

विवाहको उमेर घटाउने बहस चलेपछि माघयता २१ जिल्लाका २ हजार ८ सय बालबालिका तथा किशोरकिशोरीले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । विवाहको उमेर नघटाउन माग गर्दै विभिन्न समुदायमा क्रियाशिल २८ संघसंस्थाले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

विवाहको उमेर घटाएमा विद्यालय छोड्ने बालबालिकाको संख्या बढ्ने र यसले अन्ततः महिलाहरुको आर्थिक अवस्था निकै कमजोर बनाउने, घरेलु हिंसाका घटनाहरु बढ्ने, मातृ मृत्यु र बालमृत्यु दरमा वृद्धीहुने सरोकारवालाको भनाइ छ । पछिल्नो ३ वर्षमा ४६ वटा बालविवाह विरुद्धका उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । जसमध्ये ३६ वटा १८ वर्षमुनिका बालविवाह रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा धेरै विवाह गर्नेको उमेर १८ देखि २० वर्षको बीचमा नै छ । जसअनुसार १८ देखि २० वर्ष उमेर समूहका ३५ दशमलब ९ प्रतिशत किशोरी र ३२ दशमलब ६ प्रतिशत किशोरले विबाह गरेका छन् । लुम्बिनी प्रदेशमा ३७ प्रतिशत किशोरीहरु र ३५ प्रतिशत किशोरहरुले २० वर्षभन्दा कम उमेरै विवाह गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।